![quarentine](https://samriddhasamaj.com/wp-content/uploads/2020/05/quarentine-696x522.jpg)
हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डमा आइतबार राती ४ जना मात्रै राखिएका छन् । एकजना कोरोना संक्रमितसहित ४ जना आइसोलेसनमा रहेका छन् । आइतबार ५ जना डिस्चार्ज भएर फर्किएसँगै ४ जना मात्रै बाँकी रहेको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । गोरक्षेश्वर मन्दिरमा क्वारेन्टाइन सञ्चालनमा आएसँगै आइसोलेसन वार्ड थप व्यवस्थित हुने उहाँको भनाइ छ ।
हेटौंडा–१०, स्थित गोरक्षेश्वर मन्दिरको सभाहलमा निर्माण गरिएको क्वारेन्टाइनमा भने एकजना मात्रै राखिएको छ । आइतबारबाट मात्रै सञ्चालनमा आएको क्वारेन्टाइनमा उपमहानगरभित्रका बासिन्दालाई मात्र राख्ने नीतिअनुसार जिल्लाका अन्य पालिकाका नागरिकलाई सम्बन्धित पालिकामै पठाइएको छ । आइतबार पहिलो दिन ९ जना क्वारेन्टाइनमा आइपुगेका थिए । भारतबाट आएका ८ जनालाई हेटौंडा अस्पतालले उनीहरुको ट्राभल हिस्ट्रिको आधारमा रेफर गरेको क्वारेन्टाइनका इन्चार्ज टिएन ढुंगेलले जानकारी दिनुभयो ।
८ जना मध्ये ४ जना बागमती गाउँपालिकाका, ३ जना बकैया गाउँपालिका र १ जना हेटौंडा उपमहागरपालिका वडा नम्बर १३ का थिए । बागमती गाउँपालिकाका ४ जना र बकैया गाउँपालिकाका ३ जनालाई सम्बन्धी पालिकाको क्वारेन्टाइनमा पठाइएको इन्चार्ज ढुंगेलले बताउनुभयो । यस्तै चितवन जिल्ला भएका एकजना प्रहरी होम क्वारेन्टाइनमै बस्ने गरी पठाएसँगै अहिले गोरक्षेश्वर मन्दिरस्थित क्वारेन्टाइनमा आइतबार राती एकजना मात्रै सेवाग्राही रहेको इन्चार्ज ढुंगेलले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाले सुचारु गरेको क्वारेन्टाइनको सम्पूर्ण खर्च हेटौंडा उपमहानगरले व्यहोर्ने छ । क्वारेन्टाइनमा आएकाहरुलाई आवश्यक समन्वय गर्ने र सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइने इन्चार्ज ढुंगेलले बताउनुभयो । कोरोनाको संक्रमण बढ्दै गैरहेकाले २५ बेडको क्वारेन्टाइनमा धेरै बस्न नमिल्ने भएका कारण सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । सञ्चालनमा ल्याउनुअघि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र उपमेयर मीनाकुमारी लामाले क्वारेन्टाइनको अवलोकन गर्नुभएको थियो ।