हेटौँडाः भदौ २७ गते बुधबार बिहान १० बजेको समयमा हेटौँडा–१, भिन्तुनापथस्थित सञ्चो हस्पिटलको एचडीयु वार्डमा विरामीको उपचारमा संलग्न चिकित्सक जनरल फिजिसियन डा. विकास थापा, एनेस्थेसिया डा. प्रशान्त विडारीलाई सांघातिक आक्रमण गर्ने समूहको सीसीटिभी फुटेज यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । चिकित्सकमाथि भएको सांघातिक आक्रमणको सर्वत्र विरोध, निन्दा र दोषीलाई कारवाहीको माग भइरहेको छ । तर, यहाँ कानुनको पालना गराउने निकाय भने देखे नदेखे जस्तो गरिरहेको छ ।
चिकित्सकको लापरवाहीका कारण डेंगु संक्रमित हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको मृत्यु भएको भन्दै चिकित्सकमाथि सांघातिक आक्रमण भएको हो । चिकित्सकमाथि सांघातिक आक्रमण गर्नेलाई कारवाही गर्नु विपरित सहमतिको प्रयासमा लागेको प्रहरी र प्रहरी परिचालनमा गम्भीरता नदेखाएको स्थानीय प्रशासनमाथि आमरुपमा निन्दा र आक्रोश व्यक्त भएपछि बिहिबार मात्रै घटनामा संलग्न मृतकका परिवारका सदस्य मात्रै पक्राउ परेका छन् । पक्राउ परेका मृतककी श्रीमति रमा प्रधान, छोरी रमिला प्रधान, छोरा रोहन प्रधान र भतिज अनुप प्रधानलाई अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले शुक्रबार ३ दिनको अनुमति पाएको छ ।
अस्पतालको एचडीयु वार्डमै पुगेर एक किसिमले अस्पताल नै कब्जामा लिएर चिकित्सकलाई सांघातिक आक्रमण गरिएको सीसीटिभी फुटेजमा स्पष्ट देखिन्छ । बिरालोको बथानले मुसालाई खेलाएजस्तै गरी दुईजना चिकित्सकलाई अस्पतालको गल्लीमा आक्रमण गरेका समूहलाई तत्काल पक्राउ गर्नुपर्ने प्रहरीले शुक्रबार साँझसम्म आक्रमण गर्नेहरु पहिचान गर्ने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजाल बताउनुहुन्छ । चिकित्सकमाथि सांघातिक आक्रमणपछि बुधबार साँझ आफ्नै कार्यकक्षमा मिलापत्रको प्रयास गर्नुभएका प्रहरी उपरीक्षक सीताराम रिजालले अहिले तिनै आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताउनुहुन्छ ।
घटनाको सुरुवातदेखि नै प्रहरी, प्रशासनको भूमिका कमजोर र गैरजिम्मेवार देखिएको छ । बिहिबार दिउँसो ४ जनालाई पक्राउ गरेको प्रहरीले उनीहरुसँगै आवश्यक सोधपुछ गरी घटनामा संलग्नलाई तत्काल पक्राउ गर्नेतर्फ चासो नदेखाएको पुष्टि हुन्छ । प्रहरीले घटनामा संलग्नको पहिचान गर्ने नभई देखे नदेखेजस्तो गर्ने नियत राखेको देखिन्छ । अन्यथा जिल्ला प्रहरी प्रमुख रिजालले सर्वप्रथमतः आफ्नै कार्यकक्षमा सहमतिको प्रयास गर्ने दुस्साहस गरिरहँदा उनीहरुलाई चिनेकै हुनुपर्छ । दोस्रो पक्राउ परेकाहरुबाटै सबैको नाम, ठेगाना र सम्पर्क पहिचान गर्न सक्ने अवस्था रहन्छ । तेस्रो पक्राउ परेकाहरुले मुख नखोले सिसिटीभी फुटेजले सहजै आक्रमणकारी पहिचान गर्न सकिने अवस्था छ । यतिधेरै अवसर रहँदा रहँदै पनि शुक्रबार साँझ साढे ८ बजे मकवानपुरका प्रहरी प्रमुख रिजालले ३÷४ जना पहिचान भएको प्रतिक्रिया दिनुभयो ।
विरामीको उपचार गरिरहेकै बेला चिकित्सकमाथि सांघातिक आक्रमण भएको घटनामा प्रहरी प्रशासनले सहमतिको प्रयास गर्नु, घटनालाई लिएर सर्वत्र विरोध र दोषीलाई कारवाहीको माग भइरहँदा दोषी पक्राउ गर्ने र कारवाही गर्ने विषयमा प्रहरी प्रशासनको सुस्तताले प्रहरी प्रशासनको नियतमाथि नै प्रश्न चिन्ह खडा भएको छ । प्रहरी, प्रशासनको यस किसिमको सुस्तता र बेवास्ताप्रति राजनीतिक नेतृत्व र जनप्रतिनिधिहरुको पनि ध्यानाकर्षण र पहलकदमी नपुगेको देखिन्छ । आम नागरिक त्रसित हुने गरी, आजको सूचना प्रविधिको युगमा अन्तर्राष्ट्रिय समुदायमाझ लाजको विषय हुने घटनालाई प्रहरी, प्रशासनले सामान्य घटनाजस्तै गरी बेवास्ता गर्नु थप चिन्ताको विषय हो । समाजमा कुनै दुखद् घटना हुनु अनपेक्षित भए पनि अस्वभाविक भने होइन । तर, यस्ता घटनालाई लिएर राज्य संयन्त्रले जिम्मेवार र जवाफदेही भई नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन नसक्नु नागरिकका लागि थप चिन्ताको विषय र निराशाको विषय हो ।