हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका–३, कुटिभकारीस्थित चिरुवा खोलामा निर्मित झोलुङ्गे पुल उद्घाटन भएको छ । मंगलबार एक कार्यक्रमका बीच बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले पुलको उद्घाटन गर्नुभएको हो ।
पुलको उद्घाटन गर्नुहुँदै अध्यक्ष घलानले उक्त वडालाई आफूले विकासको हरेक क्षेत्रमा विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले तत्काल दूध चिस्यान केन्द्रको पनि टेन्डर गरिने बताउनुहुँदै त्यहाँका कृषकहरुलाई दूध र तरकारी उत्पादनमा लाग्न आग्रहसमेत गर्नुभयो ।
बागमती–३ का वडा अध्यक्ष कमान सिं पाख्रिनले पुल निर्माण गर्न पालिका अध्यक्ष घलानले महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले वडाले उल्लेखनीय कार्य गर्न सुरु गरेको बताउनुहुँदै आगामी दिनमा निरन्तरता दिने बताउनुभयो । वडाका केही खहरेहरुमा पक्की पुल बनिसकेको र अन्य खोला खहरेहरुमा पनि पक्की पुल तथा झोलुङ्गे पुल निर्माणको योजना परिसकेको उहाँले बताउनुभयो ।
गाउँपालिकाको पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभागको संघीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत् पुल निर्माण भएको हो । संघीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट ३८ लाख ८६ हजार ७ सय ९१ रुपैयाँ, बागमती गाउँपालिकाबाट ५ लाख ६३ हजार ८ सय ६२ रुपैयाँ र जनश्रमदान ६८ हजार ७ सय ४८ रुपैयाँ गरी कुल ४५ लाख ३७ हजार ४ सय १ रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माण भएपछि स्थानीयलाई चिरुवा खोला सहजै वारपार गरी वडा कार्यालय आवतजावत गर्न, विद्यार्थीहरुलाई विद्यालय र स्वास्थ्य कार्यालय आवतजावत गर्न सजिलो भएको छ ।