हेटौंडाः पछिल्लो २४ घण्टामा मकवानपुरका ६ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार ६ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ ।
डेंगु हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना र मनहरी गाउँपालिकाका एक जना रहेका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्यांकअनुसार मकवानपुरमा साउनयता ४ सय २७ जनामा डेंगु भेटिइसकेको छ । जसमा हेटौंडा उपमहानगरपालिकाका मात्र २ सय ८६ जनामा डेंगु पुष्टि भएको छ ।
हालसम्म थाहा नगरपालिकाका १, मकवानपुरगढी गाउँपालिकाका १२, बागमती गाउँपालिकाका २१, मनहरी गाउँपालिकाका ३४, इन्द्रसरोवर गाउँपालिकाका २, भीमफेदी गाउँपालिकाका १०, बकैया गाउँपालिकाका १४ र राक्सिराङ गाउँपालिकाका १ जनामा डेंगु संक्रमण पुष्टि भएको तथ्यांक छ । तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित भएको पालिका हेटौंडा उपमहानगरपालिका रहको छ भने संक्रमित नै नभएको पालिका कैलाश गाउँपालिका रहेको छ ।