गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशभर सोमबार विभिन्न घटनामा परेर चार जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार रसुवामा २ जना, धादिङ र काभ्रे जिल्लामा एक–एक जनाको मृत्यु भएको हो ।

सोमबार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, थाम्बुचेतमा एक जनाको शव फेला परेको छ । मृतक भोजपुरको दुम्मा गाउँपालिका–७ का ३५ वर्षीय विष्णुकुमार राई रहेको जनाइएको छ । राई लामो समयदेखि मुटुरोगबाट ग्रसित रहेको र अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको प्रहरीले जनाएको छ ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ मा पनि एक जना महिला मृत अवस्थामा भेटिएको छ । सोही वडाकी ५५ वर्षीया सीता विक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी टोली खटेर घटनाबारे बुझ्दा मृतक विकलाई श्रीमान ७१ वर्षीय सुकलाल विकले लाठीले प्रहार गरेको बुझिएको जनाइएको छ । विकलाई सोमबार नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
धादिङको रोराङ गाउँपालिका–३, खानगाउँमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी ३४ वर्षीया सुस्मिता क्षेत्री रहेको प्रहरीले जनाएको छ । पाखामा घाँस काट्ने क्रममा ३ सय मिटर तल खस्दा गम्भीर घाइते भएकी क्षेत्रीलाई उपचारका लागि स्वास्थ्य केन्द्र गजुरी लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

काभ्रेको धुलिखेल नगरपालिका–१२, शंखुपाटीमा एक जनाको मृत्यु भएको छ । मानवसेवा आश्रममा ३ वर्ष अगाडिदेखि बस्दै आएकी पहिचान नखुलेको ७३ वर्षीय चञ्चलीया मुसरको मृत्यु भएको हो । शवलाई मुचुल्कापश्चात् जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।