सानोसुकौरा (मकवानपुरगढी): माइती नेपाल र द कोकाकोला फाउण्डेसनको सहकार्यमा मंगलबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, सानो सुकौरामा एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको शिलान्यास गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार बिहान फार्मको शिलान्यास गर्नुभयो ।
६५ रोपनी जग्गामा १ करोड ९२ लाख लागतमा आवासीय सुविधा सहितको तालिम केन्द्र, कृषि तथा पशुपालन फार्म बनाउन लागिएको हो । सुकौरा एग्रो प्रालिले माईती नेपाललाई उक्त जग्गा १० वर्षका लागि निःशुल्क उपलब्ध गराएको छ । एकीकृत कृषि फार्ममा व्यवस्थित तालिम हलसहित ग्रीन हाउस, हाइटेक नर्सरी, आधुनिक बाख्रा, कुखुरा र गाई पालन गरिने बताइएको छ । मानव बेचबिखनमा परेका र पर्न सक्ने सम्भावित समुदाय, क्षेत्रका जोखिम उन्मुखहरुलाई तालिम दिई समाजमा पुनस्र्थापना गर्नका लागि एकीकृत कृषि तथा पशुपालन तालिम केन्द्र स्थापनाको तयारी गरिएको माइती नेपालले जनाएको छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले एकीकृत कृषि फार्म महत्वपूर्ण सावित हुने, ग्रामीण, कृषि र आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले आधुनिक कृषि पेशामा महिलाहरूको सीप अभिवृद्धि गरी स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्न तालिम केन्द्र निर्माण गर्न लागिएको बताउनुभयो । सात महिना भित्र पूर्णरूपमा भवन निर्माण हुने र स्थानीय महिलाहरुलाई रोजगारीको अवसर मिल्ने कोइरालाले जानकारी दिनुभयो । स्थानीयस्तरको उत्पादन स्थानीयस्तरमै किनबेच हुने र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
मन्त्री मोक्तानले कृषि तथा पशुपालन सम्बन्धी तालिमसँगै महिलाहरुलाई आयआर्जनमा जोड्ने योजना धेरै राम्रो रहेको भन्दै आवश्यक सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले महिलाका लागि प्रविधिसहितको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र संचालन गरिने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य एका लाल श्रेष्ठ, बामगती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादे, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेपाली काँग्रेसका बागमती प्रदेशका महामन्त्री चन्द्र पहाडी, मकवानपुर सभापति बुद्ध लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईं, मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजाल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, बागमती प्रदेश प्रहरी कार्यालय र द कोकाकोला फाउण्डेशनका प्रतिनिधी लगायतको आतिथ्य थियो ।