हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा आज बुधबारदेखि प्रथम द युनियन एफसी खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । द युनियन एफसी क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक युनियन एफसी र कैलाश क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको द युनियन एफसीका अध्यक्ष आयुष लामा भोलनले बताउनुभयो । मनहरी गाउँपालिकाका खेलाडीहरुबीच भातृत्व कायम गर्ने, फुटबल खेलप्रति खेलाडीको आकर्षण बढाउने र खेलप्रेमी दर्शकहरुलाई मनोरञ्जन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले ट्रफी प्राप्त गर्नेछन् ।