हेटौँडाः बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफ्नो एक सय दिनको कार्यकालको उपलब्धी सार्वजनिक गर्नुभएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रीले जोशीले आफ्नो एक सय दिनको उपलब्धी सार्वजनिक गर्नुभएको हो ।
मन्त्री जोशीले गत जेठ ७ गते प्रदेश सरकारको स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहण गर्नुभएको थियो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री जोशीले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कामको सुरुवात गरेको दावी गर्नुभयो । प्रदेश भित्रका लोपोन्मुख तथा सिमान्तकृत जातिहरु, आश्रममा आश्रितहरुलाई निशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको बताउनुभयो । अहिले अस्पतालमा स्वास्थ्य बीमा गरेका विरामीहरु बढेसँगै यसलाई व्यवस्थित बनाउने उहाँले बताउनुभयो ।
मन्त्री जोशीले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय मातहत रहेका १३ वटा प्रादेशिक अस्पतालहरुमा आइसीयु, एनआइसीयु र क्याविन बाहेकका ८ सय ११ शैयाहरु भदौ १ गतेदेखि निःशुल्क रुपमा सेवा उपलब्ध गराउनुलाई मुख्य उपलब्धीको रुपमा राख्नुभएको छ । जसमा हेटौँडा अस्पतालमा १ सय ७५, सिन्धुली अस्पतालमा ७७, त्रिशुली अस्पतालमा ९२, धादिङ अस्पतालमा ७९, बज्रवाराही चापागाउँ, रसुवा अस्पतालमा १ सय ९२, चौतारा अस्पतालमा ३६, रामेछाप अस्पतालमा ३६ शैया निशुल्क सेवा उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी गराउनुभएको छ । यस्तै सबै अस्पतालहरुमा विपन्न असहाय, वेवारिसे बिरामीका लागि कुल शैयाको १० प्रतिशत शैया छुट्टयाएर निःशुल्क रुपमा कार्यान्वयन गरिएको पनि मन्त्री जोशीले बताउनुभयो ।
प्रदेशमा सञ्चालन रहेका सबै सरकारी निजी, सहकारी तथा सामुदायिक अस्पतालहरुमा सवारी पार्किङ्ग निःशुल्क रुपमा कार्यान्वयन गरिएको, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाको परिसरमा बायोमेडिकल इक्युप्मेन्ट वर्कसप स्थापना गरिएको, ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क हवाई उद्दार सम्बन्धी कार्यविधि, २०८० मन्त्रीपरिषद्बाट स्वीकृत गराउन सफल भएको उहाँले उल्लेख गर्नुभएको छ ।
स्वास्थ्य मन्त्रालय तथा मातहातका कार्यालयहरुमा चालु आर्थिक वर्षमा ६ सय २८ जना कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गरिएको, १ सय ३० जना करारमा जनशक्ति हेटौँडा अस्पतालमा अस्थायी दरबन्दी स्वीकृत गरी विज्ञापन खुलाइएको, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत क्यान्सर रोग लागेका विपन्न बिरामीलाई उपचारमा सहुलियत प्रदान गर्ने कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा ६ हजार ८ सय ६५ जना बिरामीहरुले ९ करोड २६ लाख ७३ हजार १ सय रुपैयाँ सहुलियत प्राप्त गरेको, हृदयघात भएका बिरामीका लागि उपचारमा सहुलियत प्रदान गर्ने कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा ७ वटा प्रादेशिक अस्पतालमा ३४ लाख ७२ हजार ६ सय रुपैयाँ प्रदान गरिएको एक सय दिनको प्रगति विवरणमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढीकरण कार्यक्रम अन्तर्गत ११ करोड ५२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुहुँदै मन्त्रीले जोशीले स्थानीय तहका स्वास्थ्य संस्था सवलीकरण कार्यक्रमका लागि १० करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ ।