Home मुख्य समाचार सञ्चार माध्यममा काम गर्नेलाई पारिश्रमिक दिन महासंघको ध्यानाकर्षण

सञ्चार माध्यममा काम गर्नेलाई पारिश्रमिक दिन महासंघको ध्यानाकर्षण

हेटौंडाः पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाले जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार र कर्मचारीको तलब दिन सञ्चार माध्यम सञ्चालकहरुको ध्यानाकर्षण गराएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्न मुलुकमा लकडाउन भएसँगै मकवानपुरका छापा माध्यम अधिकांश बन्द रहेका छन् भने रेडियो, टेलिभिजन र अनलाइन पत्रिका निरन्तर सञ्चालनमा रहेका छन् ।

अधिकांश सञ्चार माध्यममा कार्यरत पत्रकार र कर्मचारीले पारिश्रमिक नपाएको गुनासो पत्रकार महासंघमा परेपछि महासंघले महासंघका कोषध्यक्ष सुदीप शिवाकोटीको संयोजकत्वमा अनुगमन तथा समस्या समाधान समिति गठन गरेको छ । उक्त समितिले पारिश्रमिक नपाएका सञ्चार माध्यमहरुलाई ध्यानाकर्षण गर्ने र चैत्र महिनासम्मको पारिश्रमिक यो सातासम्म दिन आग्रह गरेको छ । जेठ १४ गते बसेको महासंघको कार्यसमितिको बैठकले ७ दिनभित्र चैत्रमहिनासम्मको पारिश्रमिक दिन संञ्चार माध्यमहरुलाई ध्यानाकर्षण गराएको छ ।

यस्तै वर्षौदेखि कार्यरत पत्रकार र कर्मचारीहरुलाई विपद्मा बेतलबी बिदामा राख्ने, सञ्चार माध्यम बन्द भई घरमै बसेकाहरुलाई तलब नदिने घटनाप्रति महासघंले घोर भत्सर्ना गरेको छ । महासंघले यस्तो घडिमा उनीहरुलाई नपन्छाउन पनि अनुरोध गरेको छ । पत्रकार र कर्मचारीहरुलाई तत्काल पारिश्रमिक उपलब्ध नगराए महासंघले रचनात्मक आन्दोलन गर्न बाध्य हुनेसमेत जनाएको छ ।

Exit mobile version