हेटौंडाः केही दिनअघिबाट सस्तो हुँदै गएको गोलभेंडाको मूल्य फेरि बढ्न थालेको छ । हेटौंडाको तरकारी थोक (होलसेल) बजारमा गोलभेंडाको मूल्य बढ्न थालेको हो ।
गत शनिबार प्रतिकेजी ५० रुपैयाँमा थोक बिक्री भएको गोलभेंडाको मूल्य सोमबार ७५ रुपैयाँ प्रतिकेजी पुगेको छ । छिमेकी मुलुक भारत निर्यात हुन छाडेसँगै गोलभेंडाको मूल्य घटेको भए पनि अहिले उत्पादनमा कमी आएकाले मूल्य बढेको व्यवसायीको भनाइ छ । सोमबार हेटौंडाको तरकारी तथा फलफूल थोक बजारमा गोलभेंडा प्रतिकेजी ७५ रुपैयाँ अर्थात् प्रतिक्रेट एक हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
गोलभेंडाको मूल्य बढे पनि अन्य तरकारी मूल्य भने स्थिरजस्तै रहेको छ । सोमबार तरकारी थोक बजारमा काउली, मुला, हाइब्रिड काँक्रो र भन्टा प्रतिकेजी ५० रुपैयाँमा बिक्री भएको छ । भिन्डी, परबल र स्कुस प्रतिकेजी ४० रुपैयाँ बिक्री भएको तरकारीको थोक व्यवसायी मुन्ना केसरीले जानकारी दिनुभयो । थोक बजारमा बोडी, तितेकरेला, घिउसिमी प्रतिकेजी ७० रुपैयाँमा कारोबार भएको छ । यस्तै, बन्दा प्रतिकेजी ४५ रुपैयाँ र लोकल काँक्रो प्रतिकेजी ८० रुपैयाँमा बिक्री भएको छ ।
तरकारी थोक बजारमा सोमबार सबैभन्दा कम मूल्यमा चिचिन्डा र फर्सीको कारोबार भएको छ । चिचिन्डा र फर्सी प्रतिकेजी ३० रुपैयाँमा कारोबार भएको बताइएको छ । यस्तै, लौका प्रतिकेजी ६० रुपैयाँ, गाँजर प्रतिकेजी १ सय रुपैयाँ, नयाँ आलु प्रतिकेजी ६० रुपैयाँ, पुरानो आलु प्रतिकेजी ५० रुपैयाँ र प्याज प्रतिकेजी ८० रुपैयाँमा बिक्री भएको व्यवसायी केसरीले बताउनुभयो ।
खुद्रा बजारमा भने गोलभेंडा र काउली दुबै प्रतिकेजी १ सय रुपैयाँमा बिक्री भएको छ । भिन्डी, बन्दा, घिरौंला, लौका र स्कुस प्रतिकेजी ६० रुपैयाँमा बिक्री भएको छ । यस्तै, भन्टा, बोडी, मुला, काँक्रो र बन्दा प्रतिकेजी ७० रुपैयाँमा बिक्री भएको खुद्रा व्यवसायी जगत लामाले बताउनुभयो । मुला र तिते करेला प्रतिकेजी ८० रुपैयाँमा, घिउसिमी प्रतिकेजी १ सय रुपैयामा, चिचिन्डा र फर्सी प्रतिकेजी ५० रुपैयाँमा, परबल प्रतिकेजी ४० रुपैयाँमा, गाँजर प्रतिकेजी १ सय २० रुपैयाँ र लोकल खुर्सानी प्रतिकेजी १ सय ५० रुपैयाँमा बिक्री भइरहेको लामाले बताउनुभयो ।
यसैगरी रायोको साग प्रतिमुठा ३० रुपैयाँ, फर्सीको मुन्टा प्रतिमुठा ३० रुपैयाँ, स्कुसको मुन्टा प्रतिमुठा ४० रुपैयाँ र निउरो प्रतिमुठा ५० रुपैयाँमा बिक्री भएको बताइएको छ ।