हेटौंडाः पछिल्लो २४ घण्टामा मकवानपुरमा १२ जनामा डेंगु पुष्टि भएको छ । सोमबार स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार हेटौंडा उपमहानगरपालिकाको ६ जनासहित १२ जनामा डेंगु पुष्टि भएको जानकारी दिएको हो ।
सोमबार थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, इन्द्रसररोवर गाउँपालिका, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाबाट एक–एक जनामा पनि डेंगु पुष्टि भएको मकवानपुर जनस्वास्थ्यका डेंगु फोकल पर्सन नवदीप सिलवालले बताउनुभयो । जिल्लाभर साउन महिनादेखि सोमबारसम्म २ सय ८३ जनामा डेंगु पुष्टि भएको छ । डेंगुका कारण एक जनाको मृत्यु भइसकेको छ । संक्रमण पुष्टि हुनेमध्ये १ सय ९३ जना हेटौंडाका रहेका छन् । हेटौंडामा डेंगु हुनेमध्ये ९७ पुरुष र ९६ महिला रहेका छन् ।
यस्तै, हेटौंडा अस्पतालमा डेंगु जाँच गराएका ३४ जनामध्ये २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जाँच गराएका ३५ जनामध्ये २ जनामा डेंगु संक्रमण पाइएको हो । एक महिला र एक पुरुषमा डेंगु पुष्टि भएको अस्पतालले जनाएको छ ।