हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माविमा आइतबार दन्त शिविरको आयोजना गरिएको छ । पूर्वविद्यार्थीहरुको श्रमिक क्रियाशील विद्यार्थी समूहले आयोजना गरेको शिविरमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय गरी कुल ४ सय ९८ जनाको दन्त परीक्षण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक गोपीरमण प्याकुरेलले जानकारी दिनुभयो ।
दन्त चिकित्सक महम्मद करिम र सुनिरा कार्कीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविर आयोजनाका लागि श्रमिक माविको युवा रेडक्रस सर्कल र हेटौँडा–४ स्थित मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्रले सहयोग गरेको थियो । श्रमिक क्रियाशील विद्यार्थी समूहले विद्यालयमा विविध क्रियाकलाप गर्दै आएको छ । समूहले विद्यालयमा अध्ययनरत २३ जना विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग गर्दै आइरहेको छ ।