हेटौँडाः हेटौँडा–१६, हटियास्थित जनप्रिय माविमा आधारभूत तहस्तरीय स्थलगत कथा लेखन र वाचन प्रतियोगिता भएको छ । शनिबार भएको प्रतियोगितामा १० वटा विद्यालयका २० जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतिस्पर्धी कथामध्ये उत्कृष्ट १० छनौट गरी त्यसबाट सर्वोत्कृष्ट ४ कथालाई पुरस्कृत गरिएको छ ।
माइ भिलेज लर्निङ भिलेज, गलीगली र पाल नेटवर्कसँगको सहकार्यमा हेटौँडा–१६, हटियास्थित जनप्रिय मावि र दिव्यसेवा जनप्रिय बाल समूहको आयोजनामा प्रतियोगितामा भएको हो । जनप्रिय बाल समुहकी अध्यक्ष सृष्टी अधिकारीको अध्यक्षता तथा वडाअध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रतियोगितामा जनप्रिय मावि कक्षा ७ की छात्रा रोजिना तिमल्सिना प्रथम, जनप्रिय माविकै कक्षा ८ का छात्र विश्वास श्रेष्ठ द्वितीय र चन्द्रोदय माविकी छात्रा रितिका खतिवडा तृतीय भइन् । यस्तै सुनगाभा शिक्षा निकेतनकी सुविसा दुलाल सान्त्वना भइन् ।
कार्यक्रममा स्थलगत रुपमा कथा लेखन गरेपछि छनौटमा परेका उत्कृष्ट १० कथा वाचन समेत गरिएको थियो । लेखन र वाचनलाई आधार मानेर निर्णायकहरुले निर्णय गर्नु भएको थियो । कार्यक्रममा बाल अभियान तथा सहक्रियाकलाप सहयोग गर्ने जनप्रिय माविको मिडिया विभागका संयोजक सुनिल गौतम, शिक्षकहरू उमा श्रेष्ठ, यशोदा भट्टराई, सीता गुरुङ्गलाई नगद एवम् प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा वडा सदस्य गुरूप्रसाद ढकाल, जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँ, अतिरिक्त क्रियाकलाप एवम् साँस्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्माको पनि आतिथ्य रहेको थियो ।