थाहा चलचित्र महोत्सवबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोजकहरु ।

हेटौँडाः मकवानपुर जिल्लाको थाहा नगरपालिकामा थाहा चलचित्र महोत्सव–२०२३ हुने भएको छ । कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले शनिबार पत्रकार सम्मेलनमार्फत थाहा नगरपालिकाको आयोजनामा असोज ९ गतेदेखि १५ गतेसम्म थाहा चलचित्र महोत्सव हुने जानकारी दिनुभयो । थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताइएको छ ।

थाहा कला केन्द्रले पर्यटनका लागि चलचित्र महोत्सव भन्ने नारासहित महोत्सवको आयोजना गर्न लागिएको जनाएको छ । महोत्सवका लागि बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोग रहेको छ । चलचित्र, लघुचलचित्र, म्युजिक भिडियो, ब्लग तथा इत्यादि छायाङ्कनस्थलको विकास तथा प्रचार गर्ने, थाहा नगरपालिकाको मुख्य–मुख्य पर्यटकीय क्षेत्रहरुको पहिचान गरी महोत्सवमार्फत प्रचार गर्ने बताएको छ ।

यसैगरी चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, इत्यादि क्षेत्रका अग्रज कलाकारहरुलाई थाहाको बारेमा जानकारी गराउने, कार्यक्रम अवधिभर थाहाको पर्यटकीय क्षेत्रको अवलोकन गर्न लगाउने, थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धन हुने खालका तस्बिरहरु अवलोकनका लागि कार्यक्रमस्थलमा राखिने बताइएको छ । महोत्सवमा निर्देशक, कलाकार तथा निर्माण पक्षसँग अन्तरक्रिया गरिनेछ । महोत्सव आयोजनाका लागि २७ लाख ८० हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।