हेटौंडाः रुकुम जिल्लाको चौरजहारीमा अन्तरजातीय बिवाहको घटनामा दलित केटा र उसको साथीहरुको सामूहिक हत्याको विरोधमा मकवानपुर जिल्लाका दलित समुदायले शुक्रबार हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेका छन् । मकवानपुर जिल्लाका विभिन्न दलित संघ संस्थाहरुले व्यानर—प्लेकार्ड बोकेर सामाजिक दुरी कायम राख्दै प्रदर्शन गरेका हुन् ।
दोषीलाई कारवाहीको माग गर्दै विभिन्न दलित संघ, संस्थाका प्रतिनिधिको सहभागितामा प्रदर्शन भएको हो । प्रदर्शनमा दलित एकता जिन्दावाद, छुवाछुत प्रथा मुर्दावाद, संविधानलाई व्यवहारमा लागु गर, रुकुम हत्याकाण्डको हत्यारालाई कारबाही गर, सामाजिक कुसंस्कार मुर्दावाद लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी भौतिक दुरी कायम गरी प्रदर्शनमा ७० जनाको सहभागिता रहेको थियो । रुकुम पश्चिममा भएको अमानवीय घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै हाल देशभरी नै प्रदर्शन भैरहेको छ । पीडित परिवारले न्याय पाउनुपर्ने, मृतकहरुलाई शहिद घोषणा गर्नुपर्नेलगायत उनीहरुको माग छ ।