हेटौंडाः जारी लकडाउनका कारण दुई महिना अवरुद्ध भएको नियमित खोप कार्यक्रम हेटौंडा उपमहानगरपालिकामा जेठ महिनाबाट सुचारु भएको छ । नियमित खोप सुचारु भएको हेटौंडा उपमहानगरपालिकाका १९ मध्ये १८ वटा वडामा यो महिनाको खोप कार्यक्रम सकिएको छ । नगरका १८ वटा वडाका ३ हजार १ सय ७० बालबालिका नियमित खोप कार्यक्रमबाट लाभान्वित भएका छन् ।
हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखा प्रमुख रमन झाका अनुसार जेठ १ गतेदेखि सुरु भएको वडा तहमै नियमित खोप कार्यक्रमको अन्तिम कार्यक्रम वडा नम्बर १३ मा यही जेठ २५ गते एक दिन सञ्चालन हुनेछ । हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा नियमित खोप कार्यक्रम २ दिनदेखि ५ दिनसम्म सञ्चालन भएको छ । २ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि लगाइने नियमित खोप कार्यक्रममा बीसीजी, डीपीटी/हेपाटाइटीस बी, पीसीभी, एफआइपीभी, दादुरा/रुबेला, पोलियो, जापानिज इन्सेफलाइटिस र टिडी गरी ८ प्रकारका खोप बालबालिकाको उमेरअनुसार लगाइन्छ ।
हरेक महिना उपमहानगरका १९ वटै वडामा सञ्चालन हुँदै आएको नियमित खोप कार्यक्रम कोरोना भाइरसको संक्रमणको जोखिमका कारण चैत र बैशाख २ महिना रोकिएको थियो । वडामा रहेका स्वास्थ्य इकाईहरुमा अहेव तथा अनमीले खोप लगाइदिन्छन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएर बालबालिकालाई खोप लगाइदिइरहेका छन् ।
खोप कार्यक्रममा बालबालिकालाई सहभागी गराउन स्वास्थ्य स्वयंसेविकाहरुले नगरवासीलाई सूचित एवम् प्रेरित गर्ने काम गरिरहेको उपमहानगरपालिकाले जनाएको छ । कोरोना भाइरसको जोखिमका कारण खोप लगाउन आउने व्यक्तिलाई मास्क लगाएर आउन वडा कार्यालयहरुले अपील गरेको छ भने सुरक्षाका लागि कतिपय स्वास्थ्य इकाईमा प्रहरी समेत खटाइएको थियो । बालबालिकालाई खोप लगाउन आउने अभिभावकहरुलाई भौतिक दुरी कायम गरी लाइनमा राखिएको थियो ।