“म खेलूँ कहाँ ?
म उफ्रूँ कहाँ ?
म गाऊँ कहाँ ?
म बोलूँ कहाँ ?
कुरा गर्छु, आमालाई झर्काे लाग्छ । खेल्न थाल्छु बुबालाई झ्वाँक चल्छ ।
उफ्रन्छु त बस् भन्छन् । गाउँछु त चुपलाग् भन्छन् ।
अब तपाईँ नै भन्नुहोस्, म कहाँ जाऊँ ? के गरूँ ?”
वास्तवमै माथिको भनाइ आम बालबालिकामा लुकेको जसलाई कसैले बुझ्न नसकेको पीडा हो । बालबालिका माटाकै भाँडा हुन्, यिनलाई हामी जुन आकारमा ढाल्छौँ । फलस्वरूप त्यही आकारमै परिणत हुन्छन् भन्ने भाव बुझाउन खोजेका गिजुभाइले बालबालिकाको शिक्षाको निमित्त सम्पूर्ण जीवन व्यतीत् गरे । उनको दिवास्वप्नले पनि हामीलाई यो निक्र्योल गराउँछ कि उनी एक शिक्षाविद् तथा विचारक हुन् । स–साना बालबालिकालाई कसरी सहजपूर्ण तरिकाले शिक्षण गराउने भन्ने विषयमा सदावहार खोज गरिरहने उनलाई बाल मनोवैज्ञानिक शिक्षाविद् भन्दा कति पनि फरक नपर्ला । भारतको सौराष्ट्रको चित्तल गाउँमा जन्मेका गिजुभाइको वास्तविक नाम गिरिजा शङ्कर भगवान हो । उनलाई प्रेमपूर्ण भावले गिजुभाइ भनिएको हो । उनले विभिन्न कृतिहरू रचना गरेका छन् जसमध्ये उनको दिवास्वप्न एक उत्कृष्ट कृति हो । जसमा बालबालिकालाई कसरी सहजपूर्ण पद्दतिबाट सिकाउन सकिन्छ । उनीहरूलाई सिकाइप्रति कसरी आकर्षित गर्न सकिन्छ भन्ने कुराहरू बुझाउ नखोजिएको छ । शिक्षा घोकन्ते नभई व्यवहारिक हुनुपर्छ भन्ने कुरालाई यस पुस्तकमा जोड दिइएको पाइन्छ ।
दिवास्वप्नका प्रतिनिधि पात्र हुन्, शङ्कर सर । उनकै मुख्य भूमिकामा यस उपन्यासको समापन भएको छ । शङ्कर सर र जिल्ला शिक्षा अधिकारीसँगको संवादको परिवेशलाई अङ्गाल्दै यस उपन्यासको प्रारम्भ भएको पाइन्छ । जीवनमा पढेको र विचार गरेको कुराले मात्र पर्याप्त हुँदैन, अनुभवले नै वास्तविकता कस्तो हुँदो रहेछ भन्ने विचार बोकी शङ्कर सर प्राथमिक विद्यालयको शिक्षक बन्ने हेतुले जिल्ला शिक्षा अधिकारीकहाँ पुगेका हुन्छन् । जब उनी विद्यालयमा पुुग्छन् । त्यहाँ उनले धेरै समस्याहरू देख्छन् । उनको नजरमा देखिएको पहिलो समस्या विद्यार्थीमा व्यक्तिगत सरसफाइ र अनुशासन, कक्षाकोठा व्यवस्थापन आदि–आदि ।
यति मात्र नभई सिकाइमा घोकन्तेपन जसलाई मुख्य समस्याको रूपमा देख्छन् । यी समस्यालाई निराकरण गर्न उनी विद्यार्थीको नजिक हुन्छन् । उनले विद्यार्थीहरू सिकाइप्रति हतोत्साही नहुन् भन्ने धारणाले सरल माध्यमबाट जटिलतर्फ लाग्ने योजना निर्माण गरेका छन् । सर्वप्रथम विद्यार्थीमा भाषाको विकास नभई अन्य कुरामा विकास गर्न असमर्थ भइन्छ भन्ने हेतुले कथाको माध्यमले विद्यार्थीलाई पठनप्रति आकर्षित गर्दै लगेका छन् । उनले विभिन्न खोज विधिको प्रयोग गरी विद्यार्थीलाई व्यवहारिक पद्दतिले शिक्षा दिने काम गरेका छन् । उनले विद्यार्थीको शारीरिक, मानसिक र सिर्जनात्मक विकास गर्ने काम गरेका छन् । सिकाइका क्रममा अनेकौं चुनौतीसँग जुधेर उनले हरेक क्रियाकलापमा विद्यार्थी स्वयम्लाई सहभागी गराएर अन्त्यमा सफलता पाएरै छाड्छन् ।
शङ्कर सर एक शिक्षकमा हुनुपर्ने असल गुणले भरिपूर्ण शिक्षक हुन् । जब म दिवास्वप्न पढ्दै थिएँ तब मैले आफूलाई शङ्करसँग तुलना गर्ने गुणहरू के–के छन् त भन्दै आफूले आफूलाई केरकार गर्दै थिएँ । कतिपय कुरामा म आफूलाई उनमा पाउँथेँ भने कतिपय कुरामा म कतै चुकेको महसुस गर्थेँ । यस पुस्तक पढिरहँदा म एक शिक्षिका भएको नाताले म आफ्ना शिष्यहरूलाई स्मरण गरिरहन्थेँ । यस पुस्तकमा शङ्कर सरले बालबालिकाको मनोभावनालाई बुझी जुन तरिकाले शिक्षण गरेका छन् नि त्यो पक्ष वास्तवमै सबैभन्दा मन परेको पक्ष हो मेरो । उनले जुन सहज तरिकाले सिकाइ पद्दति अपनाएका छन् हो, त्यस्तै सहज पद्दतिले हरेक क्रियाकलापलाई पनि व्यवहारमा उतारेका छन् । उनको त्यो पद्दति वास्तवमै प्रशंसनीय रहेको पाइन्छ । “घोकन्ते विद्याध्यावन्ते खेती” भन्ने हाम्रा पुर्खाहरूको भनाइलाई उनले विफल बनाएका छन् । उनले भाषा जस्तो विषयवस्तुलाई पनि खेलको माध्यमले व्यवहारमा उतारी बालबालिकामा सहज तरिकाले सिकाएका छन् ।
जब म यो पुस्तक पढ्दै थिएँ तब ममा पनि कतै त्यही पुरातनवादी धारणाले कतै कहीँ जरो गाडेको छ कि भन्ने आभाष महसुस गरेँ । वास्तवमा सिक्नु भनेकै व्यवहारमा लागु गर्नु हो । जुन सिकाइलाई हामीले व्यवहारमा लागु गर्न सक्दैनौँ त्यो सिकाइ वास्तवमै निरर्थक हुन्छ । सिकाइ त्यो हो जुन जीवनउपयोगी हुन्छ । जब म कक्षाकोठामा शिक्षण गर्न जान्थेँ तब मैले मेरा बालबालिकालाई सिकाइप्रति अभिरूचि नै नभएको महसुस गर्थे । यति हुँदाहुँदै पनि कोर्स नसकिएला भन्ने डरले यस्ता कुरा वास्ता नगरी म आफ्नो सुरमा अगाडि पनि बढेको थिएँ र रिजल्ट हेरेदेखि पनि भएको अवस्थासँग म गुज्रिएको थिएँ । आज आएर महसुस भयो सायद मेरो शिक्षण पद्दति विद्यार्थी केन्द्रित नभएर शिक्षक केन्द्रित रहेछ । रोचक तथ्य यहाँ छ कि यो कुरा महसुस मैले जब गरेँ तब म दिवास्वप्न पढ्दै थिएँ ।
वास्तवमा हरेक बालबालिका कल्पनाशील हुन्छन्, उनीहरूमा जिज्ञासा, कौतुहलता हुन्छ । मनमा अनेक कुराहरू खेलाइरहन्छन् र खेलिरहन्छन् पनि । त्यो बालसुलभ मानसिकतामा रहेको अनेक प्रश्नहरूको उत्तर प्रेमपूर्वक दिँदै लैजाने हो भने कुनै पनि बालक परिवार, स्कूल या राज्य विरूद्ध लडाकू र विद्रोही हुँदैनन् । अझै पनि हाम्रो समाजमा धेरैजसो घर परिवारमा विद्यालयमा नै पनि नानीबाबुहरूलाई हकारेर, कुटेर, पिटेर तह लगाउन सकिन्छ भन्ने मानसिकता रहेको पाइन्छ । यस्तो मानसिकताबाट गुज्रिएको हाम्रो घर परिवार, समाजमा परिवर्तनको घाम जबसम्म झुल्किँदैन तबसम्म शिक्षामा परिवर्तन अकल्पनीय हुन्छ । वास्तवमा सिकाइ त्यो हो जुन जीवनउपयोगी होस् । बालबालिकालाई दिनभर बन्द कोठामा थुनेर, हकारेर, सजाय गरेर अनुशासित गरेको भन्दा मित्रवत् व्यवहार गरेर छिट्टै र सजिलै सिक्न सक्छन् ।
कक्षाकोठामा अत्यन्त पुरातनवादी शिक्षणलाई चुनौती दिएर खेल विधि, कथाकथन विधि, प्रदर्शन विधि, अवलोकन विधि तथा अनेक प्रयोगात्मक विधिहरूको प्रयोग गरी सिकाइ सहजीकरण गर्ने कार्य यस पुस्तकका लेखकले गरेका छन् जुन अनुशरणीय रहेको पाइन्छ । आफ्नै वरपर रहेका चिजवस्तुलाई शिक्षण सामग्री बनाई सिकाइ प्रभावकारी आकर्षित बनाउन सकिन्छ । सिकाइ परीक्षा केन्द्रित नभई व्यवहार केन्द्रित हुनुपर्छ भन्ने भाव बोकेको यो पुस्तक पढ्न अतिनै सरल पुस्तक हो । यस पुस्तकमा प्रयोग भएका भाषाशैली अत्यन्त सरल रहेको पाइन्छ ।
म एक शिक्षक भएको नाताले यस पुस्तक पढ्नाले मलाईँ धेरै कुरामा आफूलाई चिन्ने र चिनाउने मार्ग पहिल्याएको छ । यस पुस्तक पढ्नाले मलाई सिकाइ विधि, कक्षाकोठा व्यवस्थापन, बालमैत्री शिक्षण, बालबालिकाको मनोभाव आदि–आदि बुझ्ने र बुझाउने तरिका थाहा पाएकी छु जुन अबका मेरा शिक्षणमा लागु गर्नेछु । वास्तवमै शिक्षक को हो ? विद्यार्थीहरू के हुन् ? वास्तविक सिकाइ कस्तो हुनुपर्छ ? सिकाइमा परीक्षा प्रणाली नै आवश्यक छ त ? यस्ता यावत् विविध प्रश्नहरूको प्रतिउत्तरको सङ्गालो हो, दिवास्वप्न । सबैलाई यस पुस्तक पढ्न आग्रह गर्न चाहान्छु ।
(कार्की हेटौँडा–४ स्थित नवोदय शिशु सदनमा कार्यरत शिक्षक हुनुहुन्छ ।)