विद्यार्थीले तयार पारेको हस्तलिखित पुस्तकहरु ।

हेटौँडाः हेटौँडा–१६ हटियास्थित जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीको हस्तलिखित पुस्तक विमोचन गरिएको छ । विद्यालयको आयोजना तथा जनप्रिय बालक्लबको संयोजनमा गरिएको सहक्रियाकलापका प्रशिक्षणपश्चात शुक्रबार पुस्तक विमोचन गरिएको हो । २८ विद्यार्थीको हस्तलिखित पुस्तक विमोचन गरिएको बताएको छ ।

पुस्तक विमोचनपश्चात विद्यार्थीले आफ्ना पुस्तकका १/१ रचना वाचन गरेका थिए । विद्यार्थीले गरिएको रचना वाचनप्रति अभिभावकहरु समेत उत्साहित छन् । नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक तथा कविता प्रशिक्षक दीपक गौतमले ती विद्यार्थीलाई नवसर्जक समूहमा राख्ने बताउनुभयो । आफूले ती विद्यार्थीलाई कविता सिकाउन चाहेको उहाँको भनाई छ । विद्यार्थीमा रहेका अन्तर्निहित लेखन सीपलाई उजागर गर्न सहकार्य गरिने बताउनुभयो ।

विद्यार्थी सिर्जित रचना छनौट गरी वाचन शैली र पुस्तक आकारमा ल्याउन प्रशिक्षक सुनिल गौतम, रविन श्रेष्ठ, नीरबहादुर खड्का, संप्रस पौडेल, अनिता तिमल्सिनाले भूमिका निर्वाह गर्नुभयो । यस्तै उद्घोषण प्रशिक्षक रुपक कालिराजले उद्घोषणपश्चात् विद्यार्थीमा बोल्ने शैलीको विकास आएको बताउनुभयो । २ वटा नृत्यबारे नृत्य प्रशिक्षक अमर गुरूङ र सुस्मा दंगालले समुह निर्माण गरी नृत्य सिकाउनुभयो ।

अतिरिक्त तथा साँस्कृतिक क्रियाकलाप संयोजक युक्तलाल विश्वकर्मा तथा शिक्षक घनश्याम ढकालले योगका विभिन्न आसनबारे प्रशिक्षण गराउनुभयो । हेटौँडा–४ स्थित नवोदय शिशु सदनका चित्रकला प्रशिक्षक मनिस योन्जनले पुस्तकको गातामा राखिने बिम्बात्मक चित्र, अक्षर लेखन शैली तथा रङको मिश्रणबारे प्रशिक्षण गराउनुभयो । साहित्यकार छवि अनित्यले वादविवाद तथा वक्तृत्वकला, गजलकार तथा मुक्तककार विश्वनाथ सञ्जेलले गजल र मुक्तक लेखनसम्बन्धी प्रशिक्षण गराउनुभयो ।

गत साउन २१ देखि ३२ गतेसम्म विभिन्न सह–क्रियाकलाप आयोजना गरिएको छ । १४० विद्यार्थीका लागि नृत्य, योग, कविता लेखन, गजल/मुक्तक लेखन, उद्घोषण/औपचारिक कार्यक्रम सञ्चालन, खेलकुद, वादविवाद/वक्तृत्वकलाबारे सहक्रियाकलाप आयोजना गरिएको हो । बालक्लबकी अध्यक्ष सृष्टि अधिकारीको सभाध्याक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।