हेटौँडा : संकटा फुटबल क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार हेटौँडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा सिमराको नवजनजागृति युवा क्लबलाई ६–१ गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।
संकटाको जीतमा खेलको ममता पुन मगरले व्यक्तिगत ५ गोल गरिन् । उनले खेलको पहिलो हाफको नवौं, २१ औं, ३५ औं मिनेटमा र दोस्रो हाफको २७ औं र ८४ औं मिनेट गोल गरिन् । संकटाका लागि अर्को एक गोल जेनिफर राना मगरले खेलको पहिलो हाफको १३ औं मिनेटमा गोल गरिन् । सिमराकी रोजिना लामाले खेलको ७९ औं मिनेटमा गरेको एक गोल सान्त्वना रह्यो ।
प्लेयर अफ द म्याच संकटाकी ममता घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । जीतसँगै संकटा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने सिमरा बाहिरिएको छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।











