बिहिबार बोका वितरण गरिँदै ।

हेटौंडाः मकवानपुरको पूर्वि क्षेत्रमा रहेको बकैया गाउँपालिकाले किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको छ । नश्ल सुधार र प्रजनन् गर्न गाउँपालिकाले उन्नत जातका बोयर बोका ७ घरपरिवारलाई हस्तान्तरण गरेको हो । ७५ प्रतिशत गाउँपालिकाको र २५ प्रतिशत किसानको लागतमा ७ प्रतिघरलाई एकएकवटा बोका प्रदान गरेको गाउँपालिकाका कृषि प्राविधिक अशोक सिंहले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा किसानहरुलाई उन्नत जातका बोका अनुदानमा गाउँपालिकाले खरिद गरेर दिएको हो । गाउँपालिकाले ४ लाख ९० हजार रुपैयाँमा बोका खरिद गरी ७५ प्रतिशत अनुदान र २५ प्रतिशत किसानको लागतमा वितरण गरेको हो । गाउँपालिकाले बुधबार ४ घरलाई, बिहीबार २ घर र आज शुक्रबार १ घरलाई बोका वितरण गरेको छ । गाउँपालिकाले २८.९ किलो, ३३ किलो, ३८ किलो २९.५ किलो, ३३.५ किलो र ३० किलाको २ वटा गरेर ७ वटा बोका हस्तान्तरण गरेको हो । बोयर जातका बोका प्रतिकिलो २ हजार २ सय मुल्य पर्ने कृषि प्राविधिक सिंहले जानकारी दिनुभयो ।