हेटौंडाः अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिए मकवानपुरका अस्पताल सिल नहुने भएको छ । अस्पतलामा भेटिएको संक्रमित बसेको वार्ड÷कोठामात्रै शिल गरिने र संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिने भएको हो । संक्रमितको सम्पर्कमा आएकाहरुलाई भने आवश्यकताअनुसार क्वारेन्टाइन र आइसोलेसनमा राखिने भएको छ ।

संक्रमित भेटिएपनि अस्पतालको सेवा सम्पूर्ण बन्द नहुने भएको हो । संक्रमित देखिएको वार्ड र कोठा ४ घण्टासम्म खाली राखेर डिस–इन्फेक्सन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो । बिहिबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले यस्तो निर्णय गरको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, छाउनी, काठमाडौं र गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट प्राप्त निर्देशन बमोजिम जिल्लाले निर्णय गरेको जिल्ला प्रशासनले जनाएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले कोरोनाको कारणले निधन भएको व्यक्तिको शव व्यवस्थापन भने नेपाली सेनाले गर्ने जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शव व्यवस्थापन सम्बन्धी प्रोटोकल २०७७ अनुसार स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाले शव व्यवस्थान गर्ने भएका कारण मकवानपुरमा रहेको पुरानो गोरख गण सुपारेटार ब्यारेकले थप तयारी गर्ने भएको छ ।