रुकुम जिल्लाको चौरजहारीमा भएको घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गर्दै अधिकारकर्मीहरु ।

हेटौंडाः रुकुम जिल्लाको चौरजहारीमा अन्तरजातीय बिवाहको घटनामा दलित केटा र उसको साथीहरुको सामूहिक हत्याको विषयमा मकवानपुर जिल्लाका दलित समुदायले आज हेटौंडाको बुद्धचोकमा प्रदर्शन गर्ने भएका छन् । दोषीलाई कारवाहीको माग गर्दै दलित सञ्जाल मकवानपुरको आव्हानमा दलित समुदायका विभिन्न संघ, संस्थाका प्रतिनिधिको सहभागितामा बुद्धचोकमा साँझ ४ बजे प्रदर्शन गरिने बताइएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी भौतिक दुरी कायम गरी बढीमा ५० जनाको सहभागितामा प्लेकार्ड र व्यानर बोकेर प्रदर्शन गरिने नेपाल दलित मुक्ति संगठनका केशव रसाईलीले जानकारी दिनुभयो । यसअघि हिजो बिहिबार दलित सञ्जालले मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।