हेटौंडा–१९ मा ट्रान्सफर्मर जडान गरिएको पोल भाँचिएपछि मर्मतको कार्य गरिँदै ।

हेटौंडाः गत मंगलबार साँझ भीषण हावाहुरीसँगैको वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भयो । साँझको समयमा आएको हावाहुरीले क्षति पुर्‍याएका सबै क्षेत्रको मर्मत कार्य भोलि शनिबारसम्ममा सकिने नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको छ । आज शुक्रबारसम्ममा ९० देखि ९५ प्रतिशत क्षेत्रमा विद्युत सुचारु हुने र भोलिसम्ममा सबै क्षेत्रमा विद्युत सेवा सुचारु गरिने हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिनुभएको छ ।

गत मंगलबारको हावाहुरी र भीषण वर्षाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मनहरी, राक्सिराङ र भीमफेदी गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको ठाकुरले जानकारी दिनुभयो । हेटौंडा वितरण केन्द्रमा मर्मतका लागि खटिने ५५ जना जनशक्ति रहेकोमा ३० जना जनशक्ति थपेर मर्मतको कार्य तीव्र गतिमा गरिएको ठाकुरले बताउनुभयो । हेटौंडा वितरण केन्द्रअन्तर्गत ६ वटा ट्रान्सफर्मरको पोल नै भाँचिएको र सयौंको संख्यामा विद्युत पोलमा क्षति पुगेकोले मर्मत गर्न समय लागेको उहाँको भनाइ छ । विद्युत सेवा अवरुद्ध हुँदा सर्वसाधारणको दैनिकी भने कष्टकर बनेको थियो ।