कृषि मार्टमा तरकारी खरिद गर्न लामबद्ध उपभोक्ताहरु ।

हेटौंडाः लकडाउनका बेला किसान र उपभोक्ताको सहजताका लागि मकवानपुरमा सहकारीमार्फत तरकारी वितरणको कार्य स्थगित भएको छ । मकवानपुर जिल्ला सहकारी संघ र विषयगत संघहरुको प्रयासमा गत बैशाख १७ गतेदेखि हेटौंडामा तरकारी वितरण कार्य सुरु गरिएको थियो ।

हेटौंडामै कोरोना भाइरस संक्रमित व्यक्ति पहिचान भएपछि जोखिम बढेकोले तत्कालका लागि तरकारी वितरण कार्य रोकेको जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायण प्रसाद देवकोटाले जानकारी दिनुभयो । जिल्ला सहकारी संघको समन्वय तथा विषयगत सहकारी संघको सक्रियतामा गत बैशाख १७ गतेदेखि जिल्लाभित्रका किसानले उत्पादन गरेका तरकारी प्रारम्भिक सहकारी संस्थामार्फत वितरण सहुलियत दरमा विक्री गर्दै आएको थियो । गत मंगलबार अन्तिमपटक तरकारी ल्याएर वितरण गरिएको थियो ।
सहकारीले जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिका र पश्चिमक्षेत्र मनहरीका किसानले उत्पादन गरेका तरकारी सहुलियतमा विक्री गर्दै आएको थियो । कोरोना भाइरस संक्रमणको अवस्था सामान्य भएपछि तरकारी वितरण कार्य सुचारु गरिने जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताउनुभएको छ । सहकारीमार्फत तरकारी वितरणको कार्यलाई उपभोक्ताले रुचाएका थिए भने किसानले पनि राम्रो मूल्य पाएका थिए । सहकारीको प्रयासमा बागमती प्रदेशको भूमि व्यवस्था, कृति तथा सहकारी मन्त्रालयले पनि सहयोग गरेको थियो ।