हेटौँडाः १९ वर्ष उमेर समूहको राष्ट्रिय टिम निर्माणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको राष्ट्रिय छनोटमा सहभागी हुन मकवानपुरका १३ जना खेलाडीलाई विदाई गरिएको छ । शनिबार मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेलाडीलाई बुट र जुराफ दिएर विदाई गरेको छ ।
जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा एक कार्यक्रमका बीच समितिका अध्यक्ष भेष खड्गीले खेडालीलाई विदाई गरिएको हो । जिल्लास्तरीय र प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय छनोटमा सहभागी हुन निमेष मोक्तान, मिलन काफ्ले, निक्सन तामाङ, सोधन सिन्तान, निर्मल बल, दोलक थापा मगर, शेष असरत, रिहान लामा, श्रीराज घलान, विश्वास भ्लोन, रोमन घलान, इमेज चौलागाई र सिजन पाख्रिन सहभागी हुँदैछन् ।
राष्ट्रियस्तरको छनोट आइतबारदेखि बिहिबारसम्म काठमाडौंमा हुने मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदीले जानकारी दिनुभएको छ । सुवेदीकै नेतृत्वमा प्रशिक्षक विजयलाल श्रेष्ठ, एन्फा मकवानपुरका सदस्य आलोक स्याङ्तानसहित १९ वर्ष उमेर समूहको मकवानपुरे खेलाडीको टोली शनिबार नै काठमाडौं प्रस्थान गरेको छ । खेलाडी विदाई कार्यक्रममा एन्फा बागमती प्रदेश महासचिव लवराज ठकुरी, मकवानपुर साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठ, मकवानपुर जुडो संघका अध्यक्ष सविन मुक्तानको पनि उपस्थिति रहेको थियो ।
खेलाडी विदाईका क्रममा मकवानपुर साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले राष्ट्रिय छनोटमा सहभागी हुने टिमलाई नगद ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । यसअघि ४० सदस्यीय यु–१६ राष्ट्रिय टिममा मकवानपुर जिल्लाका ३ जना खेलाडी छनोट भएका छन् । उनीहरु बन्द प्रशिक्षणमा छन् । मकवानपुरका विशेष बानियाँ, सन्तोष गोङबा र भुवन कामी यु–१६ राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छन् ।
ए डिभिजन क्लब एनआरटीबाट मकवानपुरका विशेष बानियाँ र सन्तोष गोङ्बा चयन भएका हुन् भने त्रिभुवन आर्मी क्लबबाट भुवन कामी राष्ट्रिय टिमको प्रारम्भिक सूचिमा परेका हुन् । बानियाँ र गोङ्बाट एनआरटीबाट यु–१६ लिग समेत खेलिरहेका छन् भने कामी पनि त्रिभुवन आर्मीबाट यु–१६ लिगमा खेलिरहेका छन् । कामी यु–१३ देखि नै त्रिभुवन आर्मीमा आवद्ध छन् ।