हेटौंडा–४, कर्रास्थित श्रमिक माविको भवन, जहाँ आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडास्थित आइसोलेसन वार्डमा जोखिम बढेको छ । ३० बेडको आइसोलेसन वार्डमा आज बिहिबार ५६ जना राखिएका छन् । गएराति आइसोलेसनमा रहेको एक व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको छ । आइसोलेसन वर्डामा राखिएका एकजना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि जोखिम बढेको हो । हेटौंडा–९ का ५० वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई छुट्टै राखिएको छ । त्यस्तै उनीसँगै बसेका एकजनालाई पनि छुट्टै राखिएको आइसोलेसन वार्डका संयोजक भोला चौलागाईले समृद्ध समाजलाई जानकारी दिनुभयो ।

यता हेटौंडा–१ मा कोरोना पुष्टी भएकी महिलाको श्रीमान् र उनको परिवारको पनि रिपोर्ट प्राप्त भएको छैन । आइसोलेसनको वार्डको साधारण हलमा आवश्यकता भन्दा बढी मानिस बसेका छन् । संक्रमित र संक्रमित नभएकाहरुले प्रयोग गर्ने शौचालय पनि छुट्टाछुट्टै नभएका कारण जोखिम बढेको छ । समयमै रिपोर्ट प्राप्त नहुँदा, साधारण हलमा भएका एक व्यक्तिमा कोरोना पोजेटिभ आएमा संक्रमित नभएका व्यक्तिहरु पनि जोखिममा हुन सक्ने वार्ड संयोजकले बताउनुभयो । बुधबारसम्म मात्र हेटौंडाको कोरोना प्रयोगशालामा १ हजार ४ सय ८५ स्वावको नमूना प्राप्त भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । हेटौंडाको आइसोलेसन वार्डका संयोजक चौलागाईका अनुसार हेटौंडाको प्रयोगशालामा आज २६ जनाको स्वाबको नमूना संकलन गरेर पठाइएको छ । उनीहरुको रिपोर्ट कहिले प्राप्त गर्ने भन्न नसकिने उहाँले बताउनुभयो । जेठ ९ गतेदेखिको ल्याव रिपोर्ट आउन बाँकी छ ।

हेटौंडाको कोरोना प्रयोगशालामा कोरोना परिक्षण गर्ने स्वाबको नमूना बढ्दै गएपछि रिपोर्ट आउनै ढिलाई भएको छ । प्रयोगशालामा दक्ष जनशक्तिको कमि र परिक्षण गर्ने नमूना बढी भएका कारण यस्तो भएको प्रयोगशालाको स्रोतले बताएको छ । गत जेठ ९ गतेदेखिको रिपोर्ट आउन बाँकी रहेको भन्दै रिपोर्ट आउन ढिलाई हुँदा जोखिम बढेको संयोजक भोला चौलागाईले बताउनुभयो । उहाँका अनुसार आइसोलेसनमा बसेकाहरुको रिपोर्ट नआई पठाउने गरिएको छैन ।