पुरस्कार वितरण गर्नुहुँदै पृतनापति प्रदीपजंग केसी ।

हेटौँडाः नेपाली सेनाको मध्यपृतनाले आयोजना गरेको पृतनापति ट्रफी–२०८० मा गोरख बहादुर गण प्रथम भएको छ । यस्तै बाहिनीतर्फ नम्बर ७ बाहिनी अड्डा प्रथम हुन सफल भएको छ । बिहिबार मध्यपृतना हेडक्वार्टर सुपारेटार व्यारेकमा सम्पन्न फुटबलको फाइनल खेलमा गोरख बहादुर गणले शिवदल गणलाई ६–३ गोलअन्तरले पराजित गरेको थियो ।

लिग चरणमा प्रथम र द्वितीय स्थानमा रहँदै गोरख बहादुर गण र शिवदल गणले फाइनलमा स्थान बनाएको थियो । प्रतियोगितामा ७ खेलमा कुल २ सय ६० अंकसहित गोरखबहादुर गण प्रथम हुँदा नयाँ सबुज गण १ सय १६ अंकसहित दोस्रो भएको छ । यस्तै ९८ अंकसहित जबरजंग गण तेस्रो हुँदा शिवदल गण ५६ अंकसहित अंकतालिकाको पुछारमा रहेर प्रतियोगिताको समापन गरेको छ । यस्तै २० अंकसहित ७ नम्बर बाहिनी अड्डा प्रथम हुँदा १५ अंकसहित ६ नम्बर बाहिनी दोस्रो भएको छ ।

साउन १९ गतेबाट सुरु भएको पृतनापति ट्रफीमा फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, एथ्लेटिक्स, स्विमिङ र तेक्वान्दो खेल समावेश गरिएको थियो । पृतनापति प्रदीप जंग केसीले बिजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । समापन कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, सुरक्षा निकायका प्रमुखहरु, बाहिनीपतिहरु, मकवानपुर जिल्लाका विभिन्न खेलकुद संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।