फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगरभित्र सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखनमा रोक लगाउन असफल भएको छ । उपमहानगरपालिकाको नेतृत्वले सार्वजनिकरुपमै सुर्तीजन्य पदार्थको नियमन गर्ने उद्घोष गरे पनि त्यसको कार्यान्वयन हुन नसकेको हो ।हेटौैंडा उपमहानगरपालिकाका प्रमुख र उप्रमुखले नगरलाई सुन्दर, सफा नगर बनाउन नगरभित्र भोला, सुर्ती, चुरोटजस्ता सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने बताउँदै आउनुभएको छ । बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणाको तयारीको क्रममा उपमहानगरले निषेधित क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री नगर्न सूचित गरे पनि त्यसमा कडाई गर्न नसकेको हो ।

कानुनीरुपमा सार्वजनिक स्थलको एक सय मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने नियम छ । सरकारी कार्यालय, विद्यालय, अस्पतालजस्ता सार्वजनिक स्थलको वरिपरि सुर्तीजन्य पदार्थको बिक्रीविरणमा रोक लगाउने भनिए पनि ती क्षेत्रहरुमा सुर्तीजन्य पदार्थ प्रशस्त भेटिने गरेको छ । अस्पतालको आसपासमा पनि प्रशस्त मात्रामा भोला, सुर्ती, चुरोट पाइन्छ ।

उपमहानगरपालिकाले विद्यालय र सरकारी कार्यालय आसपासमा सुर्तीजन्य पदार्थ बिक्री वितरणबारे अनुगमन गरिरहेको बताउने गरेको भए पनि सुर्तीजन्य पदार्थ बिक्री वितरण रोकिएको छैन । उपमहानगरपालिका नेतृत्वको भाषण सुन्दा राम्रो लाग्ने गरेको भए पनि व्यवहारमा कार्यान्वयन नहुँदा नगरबासी दुःखी छन् ।

हेटौंडा उपमहानगपालिका आफैंले सञ्चालन गरेको सार्वजनिक शौचालयबाटै चुरोट, सुर्ती, गुटखा बेचिरहेको पाइएको छ । हेटौंडा–१० को बसपार्क छिर्ने रोड र बसपार्कको पुरानो तरकारी मण्डी नजिक रहेको सार्वजानिक शौचालयमै सुर्तीजन्य पदार्थ झुण्ड्याएर बेच्न राखेको पाहिएको हो । नगर सुन्दर र सफा राख्न लागिपरेको भन्ने उपमहानगरपालिकाले आफैंले सञ्चालन गरेको सार्वजनिक शौचालयबाटै निषेधित वस्तु बिक्री गर्ने कार्य रोक्न सकेको छैन ।