हेटौँडाः मकवानपुर जिल्लाको बागमती गाउँपालिका–५ सिक्रे दोभानमा पहिरोमा परी हराइरहेका दुईजनाको शव फेला परेको छ । पहिरोमा परी हराइरहेका ६० वर्षीय अक्कल बहादुर स्याङ्तान र अक्कलबहादुरकी छोरी २२ वर्षीया शिला पहरीको शव पहिरोले बगाएको घरदेखि १० किलोमिटर टाढा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१, कोकरस्थित बागमती नदिको बीचमा फेला परेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
उनीहरुको शव बुधबार बिहान ९ बजेर १० मिनेटको समयमा भेटिएको हो । पहिरोमा परी २५ वर्षीय जीवन पहरी, ४ वर्षीय मिलन पहरी र डेढ वर्षीया दिव्या पहरी भने अझै हराइरहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसअघि मंगलबार बिहानै ५५ वर्षीया सन्तामाया स्याङ्तानको पहिरोमा परी मृत्यु भएको थियो भने एकजनालाई १४ घण्टापछि जिवितै उद्दार गरिएको थियो ।