हेटौँडाः असार पहिलो साता हेटौँडा बजारका सडकमा देखिने अधिकांश ठेला आँपले भरिएका हुन्थे । मधेश प्रदेशका विभिन्न जिल्लामा फलेका आँप यो वर्ष हेटौँडाका उपभोक्ताले सस्तोमै खान पाएका थिए । साउनको तेस्रो सातासम्म आइपुग्दा आँपको सिजन सकिनै लागेको संकेत दिनेगरी बजारका आँपले भरिएका ठेलाहरु हराएका छन् भने मूल्य पनि बढ्दै गएको छ ।
असार दोस्रो सातासम्म थोक बजारमा आँप प्रतिकेजी ४० रुपैयाँसम्म विक्री भइरहेको थियो भने अहिले आँपको मूल्य थोक बजारमा प्रतिकेजी १ सय १० रुपैयाँ पुगेको छ । अहिले नेपाली उत्पादन सकिएर भारतबाट आयात गरिएका आँप बजारमा देखिने गरेको छ । थोक बजारमा मालदह आँप प्रतिकेजी १ सय १० रुपैयाँ, दशहरी आँप प्रतिकेजी १ सय ३० र कालकत्ते आँप प्रतिकेजी ७० रुपैयाँमा विक्री भइरहेको छ । आँपको थोक मूल्य १ सय १० भएपनि उपभोक्ता मूल्य भने १ सय ८० रुपैयाँसम्म कायम गरिएको पाइएको छ ।
हेटौँडा–१, राप्तीबगरस्थित थोक तरकारी तथा फलफुल बजारका व्यवसायी सोनु बनियाँका अनुसार आँपको सिजन सकिन लागेको छ । भारतबाट ल्याउनु परेकोले आँपको मूल्य बढ्दै गएको बनियाँको भनाई छ । भारतबाट आयात हुने आँप आवश्यकताअनुसार ल्याउने गरेको बनियाँले बताउनुभयो ।