हेटौँडाः आर्थिक वर्ष २०७९/८० मा हेटौँडा अस्पतालको फार्मेसीबाट ११ करोड १८ लाख ७८ हजार रुपैयाँ बराबरको औषधी विक्री भएको छ । अघिल्लो आर्थिक वर्षको तुलना हेटौँडा अस्पतालको फार्मेसीबाट झण्डै दुइगुणा बढी औषधी विक्री भएको छ । आर्थिक वर्ष २०७८/७९ मा हेटौँडा अस्पतालको फार्मेसीबाट ६ करोड ५३ लाख ३३ हजार रुपैयाँ बराबरको औषधी विक्री भएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा अस्पतालले ५ करोड ५५ लाख ३४ हजार रुपैयाँ बराबरको औषधी खरिद गरेको छ भने आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ७४ लाख ५४ हजार रुपैयाँ बराबरको औषधी खरिद गरेको अस्पतालले जनाएको छ । अस्पतालको फार्मेसीले विक्री गर्ने औषधीको ठूलो हिस्सा स्वास्थ्य बीमामा संलग्न सेवाग्राहीको नाममा रहने गरेको हेटौँडा अस्पतालका फार्मेसी इन्चार्ज डा. कौशल कुमार गुप्ताले जानकारी दिनुभएको छ ।
आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य बीमामा आवद्ध सेवाग्राहीले ८ करोड ९२ लाख ५६ हजार रुपैयाँ बराबरको औषधी खरिद गरेका छन् भने आर्थिक वर्ष २०७८/७९ मा ५ करोड ७ लाख २४ हजार रुपैयाँ बराबरको औषधी स्वास्थ्य बीमाका लाभग्राहीले खरिद गरेको डा. गुप्ताले बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध सेवाग्राहीको चापकै कारण हेटौँडा अस्पतालमा अहिले दैनिक करिब एक हजारले सेवा लिइरहेका छन् । बीमा कार्यक्रमका लाभग्राहीले उपचार र औषधी दुबैतर्फ सुविधा प्राप्त गर्ने भएकोले सेवाग्राहीको चाप बढेको हो ।
हेटौँडा अस्पतालले विभिन्न ५ वटा कम्पनिसँग औषधी खरिद गर्ने गरेको छ । अस्पतालले टेण्डरमार्फत औषधी खरिद गर्ने गरेको छ । हेटौँडा अस्पतालको फार्मेसीमा सातौं तहका ८ जना कर्मचारीको दरबन्दीअनुसार काम गरिरहेका छन् भने ६ जना कर्मचारीले अहिले स्वयंसेवकको रुपमा काम गरिरहेका छन् ।
फार्मेसीबाट धेरै बिरामीहरुले कार्डियो, डाइबेटिज, संक्रामक रोग र शल्यक्रिया गर्ने बेलामा प्रयोग हुने औषधी खरिद गर्ने गरेका छन् । डा. गुप्ताका अनुसार अस्पतालमा उपलब्ध नहुने औषधी सेवाग्राहीले अस्पतालभन्दा बाहिरका फार्मेसीबाट खरिद गरेर ल्याउने गरेका छन् । अस्पतालको फार्मेसीमा बेलाबेलामा कुनै औषधी सकिएर सेवाग्राहीलाई अस्पताल बाहिर पठाउन बाध्य हुने डा. गुप्ताको भनाइ छ ।