संक्रमित महिला बस्दै आएको टोल सिल गर्दै सुरक्षाकर्मी ।

हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ की कोरोना संक्रमित महिला बस्दै आएको टोल सिल गरिएको छ । आज बिहान कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि संक्रमित महिलालाई उपचारका लागि चितवन जिल्लाको भरतपुरस्थित अस्थायी कोरोना अस्पतालमा रिफर गरेपछि सुरक्षाकर्मीले संक्रमित महिला बस्ने टोल सिल गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयर, जिल्ला स्वास्थ्य कार्यालय, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि चिकित्सक, सुरक्षाकर्मीको सहभागितामा संक्रमित महिलासँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्ने क्रममा ।

यस्तै हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयर, जिल्ला स्वास्थ्य कार्यालय, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि चिकित्सक, सुरक्षाकर्मीको सहभागितामा संक्रमित महिलासँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । ३ जना स्वास्थ्यकर्मी, परिवारका ५ जना सदस्य र अन्य ७ जनासहित १५ जना संक्रमित महिलासँग सम्पर्कमा आएको पहिचान गरिएको छ ।

संक्रमित महिलाको सम्पर्कमा आएका २ जना स्वास्थ्यकर्मी र जिल्ला स्वास्थ्य कार्यालयकी एकजना कर्मचारी हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ भने एकजना स्टाफ नर्ससहित परिवारका पाँचैजनासहित अन्य व्यक्ति होम क्वारेन्टाइनमा राखिएको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाले जानकारी दिनुभयो ।