हेटौंडाः नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११४ जना थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले ११४ जना नयाँ संक्रमितसँगै कुल ८८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
देशका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परीक्षणका आधारमा नयाँ संक्रमित पहिचान भएको उहाँले बताउनुभयो । आज रुकुम पूर्वमा पनि तीन जना संक्रमित पाइएसँगै कोरोना संक्रमण भएको जिल्लाको संख्या ४७ पुगेको छ । आज पहिचान भएका नयाँ संक्रमित सबै क्वारेन्टाइनमा बसेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
आज रौतहट जिल्लामा मात्रै ३६ जना नयाँ संक्रमित भेटिएका छन् । प्रदेशअनुसार १ नम्बर प्रदेशका ७ जिल्लामा १०३, २ नम्बर प्रदेशका ८ वटा जिल्लामा ३२४ जना, बागमती प्रदेशका ११ जिल्लामा ३९ जना, गण्डकी प्रदेशका ४ जिल्लामा १३ जना, ५ नम्बर प्रदेशका ९ जिल्लाका ३६५ जना, कर्णाली प्रदेशका ३ जिल्लामा २५ जना र सुदुरपश्चिम प्रेदशका ५ जिल्लामा १७ जनामा कोरोना संक्रमण भएको छ ।