सांकेतिक तस्विर ।

हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९, गाईघाटमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पाल्पा जिल्लाको मस्याङ–४ का ३५ वर्षीय सरोज दर्लामी रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मंगलबार दिउँसो २ बजेर २० मिनेटको समयमा मुग्लिङबाट नारायणगढ जाँदै गरेको ना ६ ख ५६४२ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको लु ३८ प ६५७० नम्बरको मोटरसाइकल ठोक्किँदा दर्लामी र मोटरसाइकलको पछाडी सवार २४ वर्षीय चेतन आले गम्भीर घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएको थियो । उपचारको क्रममा दर्लामीको मंगलबार ३ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।