पछिल्लो समय आत्महत्याको समस्या जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । मकवानपुर जिल्लामा पनि आत्महत्या गर्ने संख्या बढ्दै जाँदा यसको रोकथाम चुनौतीपूर्ण बनेको छ । पछिल्लो एक वर्षमा मकवानपुर जिल्लामा एक सय ५५ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा मकवानपुर जिल्लामा एक सय ५५ जनाले आत्महत्या गरेको जिल्ला प्र्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । यो संख्या अघिल्लो आर्थिक वर्षभन्दा ३० जनाले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुर जिल्लामा एक सय २५ जनाले आत्महत्या गरेका थिए । गत आर्थिक वर्षमा आत्महत्या गर्ने एक सय ५५ जनामध्ये ४६ जना पुरुष, ४४ जना महिला र १५ जना बालबालिका रहेको प्रहरीको तथ्यांक छ ।
जानीबुझी गरिने आत्मदाह नै आत्महत्या हो । अर्थात् आफ्नो हत्या आफैंबाट गर्नु आत्महत्या हो । आत्म र हत्या मिलेर आत्महत्या बनेको हो । आत्मको अर्थ स्वयम् अर्थात् आफैं र हत्याको अर्थ खत्तम अर्थात् समाप्त पार्नु हो । यसरी आफैं समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ । कुनै पनि मानिसले आत्महत्या गर्नु को पछाडि विशेष कारण हुन्छ । विशेषगरी मानिस कुनै जटिल समस्यामा परेर त्यसबाट पार पाउन नसक्ने ठान्छ, त्यसपछि उसले आत्महत्याको बाटो रोज्नसक्छ । कुनै व्यक्तिले आफूलाई परेको अप्ठ्यारा तथा समस्या समाधानका कुनै उपाय देख्दैन, त्यतिबेला उसमा आत्महत्या गर्ने सोच आउन सक्छ । आत्महत्या गर्ने सोच आएपछि व्यक्तिले आत्महत्या गर्ने तरिका र अवसरको खोजीमा रहन्छ । उपयुक्त मौका पाएपछि मानिसले आत्महत्या गर्ने गर्दछ ।
आत्महत्याको मुख्य कारण व्यक्तिको मानसिक मनोदशा हो । मानिस मनोवैज्ञानिकरुपमा कमजोर हुँदै गएपछि निराशाको चरम रुपबाट गुज्रिएर आत्महत्याको बाटो रोज्छ । मानिसलाई धेरै दिक्दार लाग्नु, जीवनमा बढी उतार–चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविश्यप्रति कुनै आशा नलाग्नुजस्ता उदासिनताले आत्महत्यालाई बढावा दिने गर्दछ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण पनि मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ । मद्यपान तथा लागूऔषधको दुर्व्यसनमा फसेका मानिसहरु पनि आत्महत्या गर्न अग्रसर हुने गर्दछन् । कुनै दीर्घ रोगबाट ग्रस्त भएर कष्टपूर्ण जीवनयापन गरिरहेका मानिस र जटिल मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका मानिसले पनि आत्महत्याको बाटो रोज्न सक्छन् । वैवाहिक जीवन सफल नहुँदा, पारिवारिक कलह भइरहँदा, लामो सयम बेरोजगार बस्नुपर्दा, विभिन्न सामाजिक लाञ्छनाको सामना गर्नु पर्दा पनि कतिपय मानिस आत्महत्याको निर्णयमा पुग्ने गरेको पाइन्छ । कुनै मानिसलाई आफू समाजबाट एक्लिन थालेको महसुस भएमा वा आफू एक्लो भएको महसुस भएमा पनि आत्महत्या गर्ने स्थितिमा पुग्दछ ।
आत्महत्याका पछाडि एउटा व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरु जोडिने गर्दछ । पछिल्लो समय मकवानपुरमा दिनहुँ जसो आत्महत्याका घटनाहरु हुन थालेका छन् । आत्महत्याजस्तो संवेदनशील घटनाप्रति सम्बद्ध निकाय गम्भीर बन्न सकेको पाइँदैन । प्रहरीले आत्महत्याविरुद्ध केही सचेतनाका कार्यक्रमहरु गर्ने गरेको भए पनि यो पर्याप्त भइरहेको छैन । आत्महत्याको मुख्य कारण मानसिक समस्या नै हो । जुनसुकै कारणबाट भए पनि मानिसहरु मानसिक रोगी भएपछि आत्महत्याको निर्णयमा पुग्ने गर्दछन् । बढ्दो आत्महत्याले उत्पन्न गरेको चुनौतीको सामना गर्दै आत्महत्या रोकथाम गर्नु अहिलेको आवश्यकता हो । आत्महत्या न्यूनीकरणका लागि व्यापक बहस, छलफल र सचेतनाका कार्यहरु गर्नु पर्ने देखिएको छ । हरेक मानिसलाई जीवन एक संघर्ष हो भन्ने कुरा महसुस गराउन सकेमा आत्महत्याको निर्णयमा पुग्नबाट रोक्न सकिने सम्भावनालाई सबैले मनन गर्नु आवश्यक छ ।