Home मुख्य समाचार मकवानपुरका आठ पालिकामा प्रथम त्रैमासिक परीक्षा सकियोः हेटौँडामा परीक्षा जारी, कैलाशमा वर्षापछि...

मकवानपुरका आठ पालिकामा प्रथम त्रैमासिक परीक्षा सकियोः हेटौँडामा परीक्षा जारी, कैलाशमा वर्षापछि मात्रै परीक्षा

हेटौँडा–१० स्थित ज्ञानदा माविमा परीक्षा दिँदै विद्यार्थी । फाईल तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्लाका आठ वटा पालिकाका विद्यालयमा प्रथम त्रैमासिक परीक्षा सकिएको छ । बागमती गाउँपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका, राक्सिराङ गाउँपालिका, भिमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिकाका सबै सामुदायिक विद्यालयमा प्रथम त्रैमासिक परीक्षा सकिएको हो । हेटौँडा उपमहानगरपालिकामा परीक्षा भइरहेको छ भने कैलाश गाउँपालिकामा परीक्षा हुन बाँकी रहेको छ ।

बागमती गाउँपालिकामा रहेको ५० वटै सामुदायिक विद्यालयहरूमा असार ३१ गते परीक्षा सकिएको छ । बकैया गाउँपालिकामा असार ३१ गतेबाट परीक्षा सञ्चालन भई साउन ७ गते परीक्षा सकिएको छ । भीमफेदी गाउँपालिकामा असार २६ गतेबाट परीक्षा सुरु भएर साउनको पहिलो हप्ता सकिएको छ । परीक्षा सकिएर वर्षे विदा गरिएको र भदौ ३ गतेबाट विद्यालयहरुको पुनः सञ्चालनमा आउने भीमफेदी गाउँपालिकाका शिक्षा अधिकारी प्रदीप पराजुलीले जानकारी दिनुभयो । गाउँपालिका भित्र दुई वटा निजी विद्यालयहरु पनि रहेको पराजुली बताउनुहुन्छ । भीमफेदी गाउँपालिकामा निजी र सामुदायिक गरी ४५ वटै विद्यालयमा परीक्षा सकिएको छ ।

मनहरी गाउँपालिकामा पनि ३२ वटा सामुदायिक विद्यालयहरूमा परीक्षा सकिएको छ । गाउँपालिका भित्र १२ हजार विद्यार्थीले प्रथम त्रैमासिक परीक्षा दिएको गाउँपालिका शिक्षा अधिकृत पूर्णभद्र भुषालले जानकारी दिनुभयो । थाहा नगरपालिकाका ३४ वटै सामुदायिक विद्यालयमा परीक्षा सम्पन्न भएको छ । थाहा नगरको सुगम क्षेत्रमा रहेका विद्यालयहरु साउन २७ गतेबाट सञ्चालन हुनेछ भने दुर्गम क्षेत्रका विद्यालयहरुमा भदौ ७ गतेबाट सञ्चालनमा आउने थाहा नगरपालिकाका शिक्षा अधिकृत माधव विक्रम मल्लले जानकारी दिनुभयो ।

यस्तै राक्सिराङ गाउँपालिकाका ५२ वटा सामुदायिक विद्यालयहरुमा परीक्षा सकिएर भदौ ३ गतेसम्म वर्षे विदा दिइएको छ । गाउँपालिका भित्र ६ हजार ८ सय ९० विद्यार्थी रहेको राक्सिराङ गाउँपालिकाका प्राविधिक पासाङ लामाले जानकारी दिनुभयो । कैलाश गाउँपालिकामा वर्षे बिदा सकिएपछि मात्र विद्यालयले परीक्षा लिने गाउँपालिकाका शिक्षा शाखाका सूर्य बहादुर थिङले जानकारी दिनुभयो । कैलाश गाउँपालिकामा ४३ वटा विद्यालय रहेको छ भने ६ हजार १ सय विद्यार्थी अध्ययनरत छन् ।

मकवानपुरगढी गाउँपालिकामा रहेको ३७ वटा विद्यालय रहेका छन् । मकवानपुरगढी गाउँपालिकामा ४ हजार ८ सय भन्दा बढी विद्यार्थीले परीक्षा दिएका छन् । हेटौँडा उपमहानगरपालिकाको पनि केही विद्यालयहरुमा परीक्षा सकिएको र केही विद्यालयहरुमा परीक्षा भइरहेको छ । परीक्षा सकेपछि सबै विद्यालयहरुमा वर्षे विदा हुनेछ । बिदा सकिएपछि भदौ १ गतेबाट विद्यालयहरु सुचारु हुने शिक्षा शाखाले जानकारी दिएको छ ।

मकवानपुर जिल्लाको बागमती गाउँपालिकाले मात्रै पालिकाभित्रका विद्यालयहरुको त्रैमासिक परीक्षा व्यवस्थापन गर्दै आएको छ । अन्य पालिकामा भने विद्यालयकै जिम्मामा परीक्षा सञ्चालन भएको छ । ती पालिकाले कक्षा ८ को परीक्षा मात्रै व्यवस्थापन गर्दै आएको छ । त्रैमासिक परीक्षा सञ्चालन, परीक्षाको नतीजा प्रकाशन, मूल्यांकन र आगामी योजना बनाउनुपर्ने विषयमा पालिकाको ध्यान पुग्न सकेको छैन । पालिकाहरुले विद्यार्थीको भर्ना विवरण, प्रथम त्रैमासिक परीक्षामा अनुपस्थित विद्यार्थीको संख्या र अनुपस्थित हुनुका कारणबारे अध्ययन गर्ने गरेको छैन । स्थानीय तहलाई विद्यालय तहको शिक्षाको जिम्मेवारी दिइए पनि पालिकाहरुले विद्यालय शिक्षालाई गम्भीररुपमा लिएर आवश्यक योजना बनाउने, योजनाको प्रभावकारी कार्यान्वयनको रणनीति बनाउने र कार्यान्वयनपछि त्यसको प्रभावकारिताको मूल्यांकन र समीक्षामा ध्यान दिन सकेको छैन ।

Exit mobile version