साङ्केतिक तस्बिर

हेटौंडाः श्रममा संलग्न हेटौंडा–१५ का दुई बालिकालाई उद्दार गरिएको छ । हेटौँडा–१५ स्थित चुरियामाई माध्यमिक विद्यालयमा अध्ययनरत २ विद्यार्थी बिचमै पढाइ छाडेर श्रम संलग्न भएको अवस्थामा उद्दार गरिएको हो । चितवन जिल्लाको सौराहामा रहेको एक घरमा घरेलु कामदारको रुपमा काम गरिरहेको अवस्थामा बालिकालाई उद्दार गरिएको हो ।

३ वर्षदेखि पढाइ छाडेर बसेका बालिकाहरु २ वर्षदेखि श्रम गरिरहेको पाइएको छ । १३ वर्षीय र १५ वर्षीय बालिकालाई गत असार २६ गते श्रम गरिरहेको अवस्थामा उद्दार गरिएको विद्यालयका शिक्षक केशवप्रसाद खतिवडाले जानकारी दिनुभयो । उद्दार गरिएका ती श्रमिक बालिकालाई जनप्रतिनिधि, शिक्षक, बालमैत्री वडासहजकर्ता र संघ संस्थाको पहलमा पुनः विद्यालय जाने वातावरण निर्माण गरिएको उहाँले बताउनुभयो ।

कक्षा–१२ सम्म निशुल्क पढ्न पाउने गरी ती दुइ बालिका असार ३१ गते विद्यालय भर्ना भएका छन् । ती बालिका मंगलबारदेखि सुरु भएको प्रथम त्रैमासिक परीक्षामा सहभागी समेत भई कक्षा–६ को परीक्षा दिइरहेका छन् । उनीहरुले कक्षा–४ अध्ययन गर्दै गर्दा पढाइ छाडेका थिए ।