हेटौँडाः आर्थिक वर्षको अन्तिम दिन मकवानपुरका व्यवसायीले डिभिजन सडक कार्यालयमा धर्ना दिएका छन् । देशभर निर्माण व्यवसायीको भुक्तानी रोकिएको सन्दर्भमा देशैभर व्यवसायीले धर्ना दिएका हुन् । मकवानपुरका निर्माण व्यवसायीले हेटौँडा–१० स्थित सडक डिभिजन कार्यालयमा आइतबार साँझ धर्ना दिएका हुन् ।
व्यवसायीले म्याद थपको माग पूरा गर्न पनि भनेको छ । निर्माण व्यवसायी संघले चर्को बैंक व्याजदर तथा मूल्य वृद्धिको वावजुद पनि निर्माण कार्यको भुक्तानी रोकेपछि धर्ना दिन बाध्य भएको निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्र प्रसाद चौलागाइले बताउनुभयो । महासचिव चौलागाईका अनुसार सडक डिभिजन कार्यालय मकवानपुरले मकवानपुर जिल्ला भित्र मात्रै २० करोड भन्दा बढी रकम भुक्तानी रोकेको छ ।
व्यवसायीको भुक्तानी रोकिएसँगै व्यवसायीले भुक्तानी गर्नुपर्ने साहु, बैंकको किस्ता, मजदुरको ज्याला भुक्तानी गर्न असमर्थ भएको व्यवसायीको भनाइ छ । नियमानुसार म्याद थप गर्नुपर्ने योजनाको म्याद थप गर्नुपर्ने तथा रोकिएको रकम यथाशिघ्र भुक्तानी नभए थप संघर्षका कार्यक्रम तय गरिने संघले जनाएको छ ।











