हेटौँडाः मकवानपुरको मकवानपुरढी गाउँपालिकाको प्रथम त्रैमासिक परीक्षा सम्पन्न भएको छ । असार २१ गतेबाट सुरु भएको प्रथम त्रैमासिक परीक्षा शुक्रबारबाट सम्पन्न भएको गाउँपालिकाका शिक्षा अधिकृत राम घलानले जानकारी दिनुभयो । परीक्षामा ८ सय ५५ जना विद्यार्थी अनुपस्थित रहेको घलानले बताउनुभएको छ । वर्षायाम, स्वास्थ्य समस्यालगायत विविध कारणले गर्दा विद्यार्थी परीक्षामा अनुपस्थित भएको हुन सक्ने उहाँको भनाइ छ ।
पालिकामा ३७ वटा विद्यालय रहेका छन् । मकवानपुरगढी गाउँपालिकामा १२ कक्षासम्म अध्यापन हुने एक प्रविधिकसहित ४ वटा विद्यालय रहेको छ । यस्तै, १० कक्षासम्म अध्यापन हुने ६ वटा, ८ कक्षासम्म अध्यापन हुने ६ वटा विद्यालय र प्रावि तहका २२ वटा विद्यालय रहेका छन् । चालु शैक्षिक सत्रमा पालिकामा ५ हजार ७ सय ५ जना विद्यार्थी भर्ना भएका थिए । प्रथम त्रैमासिक परीक्षामा भने ४ हजार ८ सय ५० जना विद्यार्थी सहभागी भएको घलानले बताउनुभयो ।