हेटौंडाः वरिष्ठ साहित्यकार प्रध्यापक डा. गोविन्दराज भट्टराई र बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशन हुँदै आइरहेको समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ पुरस्कृत हुनुहुने भएको छ । शुक्रबार मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंक लिमिटेडले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै भट्टराई र श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको जनाएको छ ।
एक्काइसौं महालक्ष्मी साहित्य पुरस्कार–२०७९ काठमाडौंका वरिष्ठ साहित्यकार प्राध्यापक भट्टराईलाई समर्पण गर्न लागिएको मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेलले जानकारी दिनुभयो । उक्त पुरस्कार साहित्य क्षेत्रमा योगदान पु¥याउने साहित्यकारहरुलाई वि.स. २०५९ सालदेखि नै निरन्तररूपमा प्रदान गरिँदै आएको छ । यसपटक त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसमेत रहनुभएका तथा अनुवादक, लेख, अनुसन्धाकर्ता, कवि भट्टराईलाई ५१ हजार रुपैयाँ नगद राशिसहित आगामी साउन ६ गते शनिबार पुरस्कृत गरिने उहाँले बताउनुभयो ।
यसैगरी ‘केशवलाल स्मृति–मातृभूमि पत्रकारिता पुरस्कार–२०७९’ मकवानपुरका पत्रकार सुरेश श्रेष्ठलाई समर्पण गरिने उहाँले जानकारी दिनुभयो । श्रेष्ठ मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाका प्राध्यापक, समृद्ध समाजका सम्पादक र रेडियो निकास ९३ दशमलब ४ मेगाहर्जका स्टेशन म्यानेजरसमेत हुनुहुन्छ । श्रेष्ठलाई ७ हजार ५ सय रुपैयाँ नगद राशिसहित उक्त पुरस्कारबाट पुरस्कृत गरिने अध्यक्ष पोखरेलले बताउनुभयो ।
पत्रकार सम्मेलनमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय हेटौंडाका प्रबन्धक अनन्तराज धिताल, साहित्यकारहरु मुक्तिगोविन्द वैद्य, किशन पौडेललगायतको उपस्थिति थियो ।