फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–४ स्थित हुप्रचौरमा बसोबास गर्ने हेटौंडा फुटबल एकेडेमीका फुटबल प्रशिक्षक भीम लामाले विगत आठ वर्षदेखि फुटबल सिकाउँदै आउनुभएको छ । लामाले बिहान ६ः३० बजेदेखि ८ः०० बजेसम्म साना बालबालिकालाई र ८ बजेदेखि १० बजेसम्म ठूला व्यक्तिहरुलाई फुटबल प्रशिक्षण दिइरहनु भएको छ ।

१४ वर्षभन्दा मुनिका बालबालिकालाई साताको ५ दिन र त्यो भन्दा अधिक उमेरका व्यक्तिहरु साताको ६ दिन प्रशिक्षण दिने गरेको लामाले जानकारी दिनुभयो । दैनिक ५० जना देखि ६० जना प्रशिक्षार्थीहरु फुटबल प्रशिक्षणका लागि आउने गरेको उहाँको भनाइ छ ।
वर्षाको समयमा यातायातको सुविधा नहुँदा प्रशिक्षार्थी आउन नसकेका कारण प्रशिक्षार्थीको संख्या घट्ने गरेको लामाले बताउनुभयो । हेटौंडा फुटबल एकेडेमीबाट हुप्रचौरमा प्रशिक्षण दिने गरेका लामाले विभिन्न क्लबहरुले बोलाएको अवस्थामा मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र हेटौंडा–८, कमानेका खेलाडीहरुलाई पनि प्रशिक्षण दिने गरेको जानकारी दिनुभयो ।

खेलाडीहरुले कुनै पनि प्रतियोगितामा भाग लिनुपरेको अवस्थामा ट्याक्टिस ड्रिलगेम ट्रेनिङ र प्रतियोगिता नहुने खण्डमा आभारभूत ट्रेनिङ, डिभेन्डिङ, डिभेन्सिङ, आक्रमण ट्रेनिङ दिने गरेको बताउनुभयो । आफ्ना खेलाडीहरुले कुनै पनि फुटबल प्रतियोगिता खेलेपछि खेलाडीहरुबाट प्रतियोगितामा भएको गल्ती र समस्याहरुलाई बुझेर प्रशिक्षण दिने गरेको लामाले जानकारी दिनुभयो ।
हेटौंडा फुटबल एकेडेमीका सञ्चालक प्रशिक्षक लामा लामो समयदेखि मकवानपुर जिल्लाका फुटबल खेलाडी बन्न इच्छुकलाई राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले फुटबलको विकासमा नै लागिपर्नु भएको छ । ‘नेपालमा फुटबल खेलेर भविष्य बनाउँछु भन्ने नसोचे हुन्छ, तर आफ्नो देशको लागि फुटबल क्षेत्रबाट देशको विकास गर्छु भनेर फुटबल खेलमा लागिरहेको छु’, मकवानपुर जिल्लाबाट फुटबल खेलमा योगदान दिइरहेका लामाले भन्नुभयो ।

आफ्नै साथीभाइको स–सानो सहयोग र आफ्नै लगानीमा विभिन्न जिल्लाको प्रतियोगितामा भाग लिँदै आएको उहाँले बताउनुभयो । हेटौंडा फुटबल एकेडेमीले फुटबल प्रशिक्षणसँगै आफ्ना खेलाडीहरुलाइ विभिन्न जिल्लामा भएको फुटबल प्रतियोगितामा सहभागी गराउँदै आएको छ । स्थानीय सरकारबाट वार्षिक बजेट सहयोग छुट्याइयो भने फुटबट खेलमा बिना पोल्टिक्स नै क्रान्ति ल्याइदिने दाबी लामाले गर्नुभएको छ । परिवारले खेलकुद पनि शिक्षा हो भन्ने कुरा नबुझेर पढाइमा मात्र जोड दिने गरेका कारण खेलकुदलाई पनि हरेक विद्यालयले प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।

स्थानिय निकायको सहयोगबिना नै निरन्तर फुटबल खेलमा लागिपरेको लामाले आफ्नो कामलाई अरुले नदेखेको बताउनुभयो । विभिन्न प्रतियोगितामा रेफ्रीको पनि भूमिका निर्वाह गरेको उहाँले जानकारी दिनुभयो । ‘खेलाडीहरुको प्रतिक्रिया एकदमै राम्रो छ । तर टाढाबाट आउनुपरेको कारणले गर्दा खेलाडीहरुले तालिमलाई निरन्तरता दिन पाएका छैनन्’, प्रशिक्षक लामाले भन्नुभयो ।