विद्यार्थीलाई उपहारसहित सम्मान गर्नुहुँदै वडाअध्यक्ष अनन्त प्रकाश अर्याल ।

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले एसइइमा उत्कृष्ट नतिजा ल्याउने ३ जना विद्यार्थीलाई आफ्नो पारिश्रमिक वापतको रकम उपहारस्वरुप प्रदान गर्नुभएको छ । महेन्द्र ज्योति माविका ३ विद्यार्थीलाई मंगलबार एक कार्यक्रमका बीच वडाअध्यक्ष अर्यालले आफ्नो एक महिनाको पारिश्रमिक उपहारस्वरुप वितरण गर्नुभएको हो ।

महेन्द्र ज्योति माविबाट ३.१० जिपिए प्राप्त गर्न सफल प्रिन्सा पौडेललाई नगद रु १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी २.९ जिपिए प्राप्त गर्न सफल निकिता तिमल्सिना र स्वस्तिका बर्तौलालाई ४/४ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । आगामी दिनमा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई थप प्रेरणा र हौसलाका साथ पठनपाठन यात्रा अघि बढोस् भन्ने अभिप्रायले विद्यार्थीलाई उपहार दिएको वडाअध्यक्ष अर्यालको भनाई छ । उपहार हस्तान्तरण कार्यक्रममा वडासदस्य हिरा बहादुर प्रजा, वडा सचिव दिपेश महतोको पनि उपस्थिति रहेको थियो ।