स्वास्थ्य चौकी उद्घाटन गरिदैको तस्वीर ।

हेटौंडाः इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर ३, सिस्नेरीमा स्वास्थ्य चौकी भवन उद्घाटन भएको छ । मंगलबार सिस्नेरीमा नवनिर्मित स्वास्थ्य चौकी भवन समुद्घाटन भएको हो ।

गाउँपालिकाको वडा नम्बर ३ का अध्यक्ष प्रताप भोम्जन र चोइस नेपालका निर्देशक प्रतीक शर्माले नयाँ भवनको उद्घाटन गर्नुभएको इन्द्रसरोवर गाउँपालिकाका स्वास्थ शाखा प्रमुख मान्नुनाथ अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा वडा न ३ का अध्यक्ष भोम्जनको अध्यक्षता रहेको थियो भने गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्य रहेको थियो ।

समुद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमाकुमारी लामा, डोटेरा नेपालका प्रतिनिधि राजेश अधिकारी, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, निवर्तमान ३ नं वडा अध्यक्ष चिरञ्जीवी पौडेललगायतको उपस्थिति थियो । स्वास्थ्य चौकीको पुरानो भवन हटाएर निर्माण गरिएको नयाँ भवन चोइस नेपालले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । नेपाल सरकारको मापदण्डअनुसार सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण गरेर भवनबाट सेवा दिन सुरु भइसकेको अधिकारीले बताउनुभयो ।