हेटौंडाः हेटौंडामा शुक्रबार दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । दुई दिने शिविरको पहिलो दिन एक हजार २ सय ३ जनाले शिविरबाट सेवा लिएका छन् ।
हेटौंडा स्कूल अफ मानेजमेन्ट एण्ड सोसल साइन्सले आयोजना गरेको निःशुल्क शिविरमा १२ सय जना शिविरमा सहभागी भएको कलेजका सूचना अधिकारी सुदेष्णा श्रेष्ठले जानकारी दिनुभयो । असार २२ र २३ गते हुने शिविरमा २२ गते ८३ जनाले छाला तथा यौनरोग, १५ जनाले मानसिक तथा नसा, १ सय १३ जनाले जनरल मेडिसिन, ५४ जनाले दन्त, ७६ जनाले हाडजोर्नी तथा नशा रोग, ७० जनाले नाक कान घाँटी, २८ जनाले न्यूरो सर्जरी, २५ जनाले शल्यक्रिया, ५६ जनाले कार्डियो, १ सय ३५ जनाले भिडियो एक्सरे, १ सय १२ जनाले ईसीजी, एक सय जनाले प्रसुति तथा स्त्री रोग, १ सय ६० जनाले ब्लड टेस्ट, १ सय २८ जनाले आ“खा परीक्षण र १ सय ३० जनाले रक्तचाप जाँच गरेको श्रेष्ठले बताउनुभयो ।
शिविरमा हेटौंडा उपमहानगरपालिकाको प्रमुख मीनाकुमारी लामा, मकवानपुरका सीडीओ सूर्यप्रकाश सेढाई, प्रहरी उपरीक्षक बामदेव गौतम, हेटौंडाका पूर्वमेयर हरिबहादुर महत, मदन भण्डारी मेमोरियल कलेज अफ हेल्थ साइन्सका रजिस्ट्रार राजेश प्रसाई, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटा, हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा सुनिल थकाली, केएमसी अस्पतालका निर्देशिक सुमन श्रेष्ठ, केएमसी ग्राम नारायण दाहाल र वरिष्ठ पत्रकार प्रताप विष्ट अतिथि रहनुभएको थियो । शिविरमा कुल ३२ चिकित्सकले स्वास्थ्य जाँच गरिरहेका छन् ।
यस्तै, हेटौंडा अस्पतालमा भएको दुई दिने निःशुल्क शिविरमा २२ गते ३ वटा शल्यक्रिया भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाको आयोजनामा भएको शिविरमा ३ वटा शल्यक्रिया भएको हो ।