हेटौंडाः बागमती प्रदेश सभाको बजेट अधिवेशन भोलि सोमबार दिउँसो २ बजे बस्ने भएको छ । जारी लकडाउनको समयमा प्रदेशका १३ जिल्लबाट प्रदेश सभाका सदस्यहरु बैठकमा भाग लिन आउने भएका छन् । प्रदेश सभाका सांसदहरुले केहीले काठमाडौं र केहीले हेटौंडामा नै स्वाबको नमूना परिक्षणका लागि दिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । ११० मध्ये कतिजनाको परिक्षण गरिने भएको यकिन नभएको सचिवालयले जनाएको छ । साँझसम्म यसको सबै रिपोर्ट आउने बताइएको छ ।
यस्तै प्रदेश सभामा रहन मर्यादापालकसहित २७ जना कर्मचारीहरुको पनि नमूना परिक्षणको लागि संकलन गरिएको प्रदेश सभाका सचिव कृष्णहरी खड्काले बताउनुभयो । भोलि हुने बैठकको सबै तयारी सकिएको जानकारी दिनुहुँदै पहिले ४ जना बस्ने सिटमा अहिले २ जना राखिने अर्थात १ मिटरको दुरी कायम गरिने बताउनुभयो । बजेट अधिवेशनमा भोलि प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त चिठ्ठि पढेर सुनाउने, त्यस्तै अधिवेशनको शुभकामना दिने र पूर्व बजेटको छलफलका लागि अर्थमन्त्री कैलाश प्रसाद ढुंगेलले आग्रह गर्ने बताइएको छ ।
छलफल भने भोलि या पर्सी मंगलबारबाट सुरु हुने प्रदेश सभाका सचिव खड्काले बताउनुभयो । बैठकमा पत्रकार, सांसदका निजी सचिव, अन्य व्यक्तिहरुका लागि भने बाहिर भौतिक दुरी कायम गरी मनिटरबाट प्रत्यक्ष प्रसारण हेर्ने सकिने व्यवस्था गरिएको छ । यसअघि प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले आवश्यकता र सांसदहरुको ट्राभल हिस्ट्रीको आधारमा मात्र कोरोना परिक्षण गर्ने बताउनुभएको थियो । सबैको कोरोना परिक्षण अनिवार्य नभएको बुझिएको छ ।