मकवानपुरगढी–४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिँदै ।

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ४ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । आइतबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले मकवानपुरगढी ४ लाई औपचारिकरुपमा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्नुभएको हो ।

अध्यक्ष स्याङ्तानले मकवानपुरगढीको ४ नम्बर वडास्थित शहीद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाईलाई प्रमाणपत्र प्रदान गरेर पूर्ण संस्थागत सुत्केरी सुनिश्चित भएको वडा घोषणा गर्नुभएको हो । सो अवसरमा अध्यक्ष स्याङ्तानले आगामी दिनमा अन्य वडाहरुलाई पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेर सिंगो पालिकालाई नै संस्थागत सुत्केरी हुने पालिकाको रुपमा विकास गर्ने गरी अभियान चलिरहेको बताउनुभयो ।

वडाभित्र गत आर्थिक वर्षमा ४० जना र चालु आर्थिक वर्षमा ३५ जना गर्भवतीले स्वास्थ्य संस्थामा सुत्केरी गराएको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य संयोजक धुब्र लामिछानेले जानकारी दिनुभयो । विगत ५ वर्षदेखि नै पूर्ण संस्थागत सुत्केरी वडा घोषणाका लागि आफूहरु लागिपरेको भन्दै लामिछानेले यस कार्यलाई निरन्तरता दिइ दिगो बनाउन सक्रिय भइरहेको बताउनुभयो । आगामी आर्थिक वर्षमा गाउँपालिकाको १, २ र ३ नम्बर वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने गरी प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नम्बर ६ लाई २०७६ साउन १७ गते बागमती प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो । थाहा नगपालिकाको वडा नम्बर ९ र १० लाई २०८० बैशाख २७ गते, वडा नम्बर २, ३ र ४ लाई २०८० जेठ २२ गते र वडा नम्बर ११ र १२ लाई जेठ २८ गते पूर्ण सुत्केरी व डा घोषणा गरिसकिएको छ । यसैगरी हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ गतवर्ष र वडा नम्बर ६ यसवर्ष पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

वडा नम्बर ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाको सभाध्यतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष स्याङ्तानको प्रमुख आतिथ्य थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख दीपककुमार तिवारी, मकवानपुरगढी गाउँपालिकाका प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी रहनुभएको थियो । कार्यक्रममा रानी सामुदायिक वनका अध्यक्ष बिष्णुप्रसाद न्यौपाने, सृजनशील समाज बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कृष्ण बिडारी, अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाका अध्यक्ष मुस्कान लामा, वडा सदस्यहरुको आतिथ्य थियो । स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयम्सेविकाहरु, स्थानीय वडाबासीलगायतको उपस्थिति रहेको कार्यक्रममा वडा नम्बर ४ का स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान गरिएको थियो ।