हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा २ दिने नवप्रवर्तन उद्यमी विकास सम्मेलन सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश, प्रदेश महिला उद्यमी समितिको आयोजना तथा बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको सहकार्यमा बिहीबारदेखि सम्मेलन सुरु भएको हो ।
मिहिनेत, सृृृजना, उत्पादन र वस्तु प्रयोग मेरै नेपालको, नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं भन्ने उद्देश्यले सम्मेलन सुरु भएको हो । सम्मेलनमा मन्तव्य राख्नुहुँदै पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले घरेलु तथा साना उद्योगका उद्यमीहरुको प्रोत्साहनका लागि नीति तथा नियमावली संशोधन गरिने प्रतिबद्धता जनाउनुभयो । नवप्रवर्तकहरुको प्रवेशलाई प्रोत्साहन र उत्प्रेरणाका लागि सम्मेलन सार्थक हुने विश्वास मन्त्री महर्जनले व्यक्त गर्नुभयो ।
उहाँले मुख्यमन्त्री र मन्त्री फेर्नु स्वभाविक रहेको बताउनुहुँदै ऐन, नीति नियमसँग सरोकार हुनुपर्ने विषय रहेको बताउनुभयो । ‘कुनै कसर नराखी नीति नियम निर्माण गर्नुपर्छ’, मन्त्री महर्जनले भन्नुभयो– ‘मन्त्रालयमा जोकोही आएपनि फरक पर्दैन ।’ घरेलु तथा साना उद्यमीहरुको पहिचान स्थापित गर्न प्रचारप्रसार र प्रवर्धन गर्न जरुरी रहेको उहाँको भनाइ छ । आगामी दिनमा उद्यमीहरुसँग सहयोग, सल्लाह र सुझाव लिएर उद्यमीहरुको प्रवर्धन गर्न र उद्योगको प्रचारप्रसारका गर्न मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता मन्त्री महर्जनले व्यक्त गर्नुभयो । महिला उद्यमीहरुका लागि यसवर्ष तालिमदेखि प्रविधि हस्तान्तरणका कार्यक्रम रहेको जानकारी गराउनुहुँदै कुनै न कुनै किसिमले प्रोत्साहन गर्ने बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश अध्यक्ष तारानाथ चौलागाईंले उद्यम प्रबद्र्धनका लागि मार्गनिर्देशन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । मुलुकमा स्थानीय उत्पादनका लागि स्रोत÷साधन उपयुक्त नहुने र बाहिरबाट आयात गर्दा सामानको कर बढी लाग्ने समस्यालाई रोक्न सम्मेलन सहयोगी हुने उहाँको भनाइ छ । उद्यमी, व्यवसायीलाई हुने कठिनाई न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा सम्मेलनमा छलफल गरिने उहाँले जानकारी दिनुभयो । समस्या समाधानको निचोड निकालेर बागमती प्रदेशको राजधानी हेटौंडाबाट नवप्रवर्तन उद्यमी विकास घोषणापत्र सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले समृद्धशाली उद्यमी कसरी व्यवस्थापन गर्ने विषयमा सम्मेलनको ध्यानाकर्षण हुने बताउनुभयो । बागमती प्रदेशमा ठूलाठूला औद्योगिक प्रतिष्ठानहरु रहेकाले समयसापेक्ष उद्योगको विकासमा जोड दिनुपर्ने बताउनुभयो । जसको सिको गर्दै अन्य प्रदेशले पनि सोही दिशाको विकासलाई जोड दिने उहाँको धारणा छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश अध्यक्ष चौलागाईको सभाध्यक्ष तथा पर्यटन, उद्योग तथा सहकारी मन्त्री महर्जनको प्रमुख आतिथ्यमा सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंह, बकैया गाउँपालिका प्रमुख धर्मराज लामिछानेलगायतको उपस्थिति थियो ।