हेटौंडाः हेटौंडा अस्पतालको आसपासका क्षेत्रमा स्थानीयले सरसफाई गरेका छन् । हेटौंडा–१, चाइनाक्वार्टरका स्थानीयले टोलसँगै रहेको अस्पताल आसपास शनिबार बिहान सरसफाई गरेका हुन् । स्थानीय फुटबल क्लब चाईना एफसीको अग्रसरतामा समुदायका युवा तथा महिलाले अस्पतालको बाहिरी क्षेत्रको झाडी तथा फोहरको सरसफाई गरेका हुन् ।
दैनिक सयौं सर्वसाधारण उपचारका लागि आउने अस्पतालको बाहिरी क्षेत्र झाडी र फोहर देखिएपछि अस्पतालसँगै रहेको टोलवासीले अस्पताल र समुदाय दुवैको गरिमा बढाउन सरसफाईको कार्य गरेको चाइना एफसीका अध्यक्ष युनाल मल्लले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले संसार त्रसित भएका बेला सरसफाईप्रति समुदायकै चासो बढेकोले क्लबको अग्रसरतामा भएको सरसफाई कार्यक्रममा स्थानीयको सक्रिय सहभागिता रहेको अध्यक्ष मल्लले बताउनुभयो ।
समुदायको अग्रसरतामा भएको सरसफाई कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा र १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको पनि सहभागिता रहेको थियो । हेटौंडा–१, चाइनाक्वाटरमै बस्नुहुने उपमेयर लामाले स्थानीयको सक्रियता देखेर खुसी हुनुहुँदै सराहनीय कार्य भएको बताउनुभयो । यसअघि चाइना एफसीले लकडाउनकै बेला रगतको अभाव भएपछि रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।