हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित खोप केन्द्रमा खोप लगाइँदै ।

हेटौंडाः २ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि लगाइने नियमित खोप आज हेटौंडा उपमहानगरपालिकाका ३ वटा वडामा सञ्चालन हुँदैछ । आज आइतबार वडा नम्बर ११, १३ र १५ मा खोप कार्यक्रम सञ्चालन हुने हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाका प्रमुख रमन झाले जानकारी दिनुभयो । नियमित खोप कार्यक्रममा बीसीजी, डीपीटी/हेपाटाइटीस बी, पीसीभी, एफआइपीभी, दादुरा/रुबेला, पोलियो, जापानिज इन्सेफलाइटिस र टिडी गरी ८ प्रकारका खोप बालबालिकाको उमेरअनुसार लगाइन्छ ।

हरेक महिना उपमहानगरका १९ वटै वडामा सञ्चालन हुँदै आएको नियमित खोप कार्यक्रम कोरोना भाइरसको संक्रमणको जोखिमका कारण चैत र बैशाख २ महिना रोकिएको थियो । जेठ १ गतेबाट सुरु भएको यो महिनाको नियमित खोप कार्यक्रम जेठ २५ गतेसम्म चल्नेछ । वडामा रहेका स्वास्थ्य इकाईहरुमा अहेव तथा अनमीले खोप लगाइदिने छन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएर बालबालिकालाई खोप लगाइदिइरहेका छन् ।

खोप कार्यक्रममा बालबालिकालाई सहभागी गराउन स्वास्थ्य स्वयंसेविकाहरुले नगरवासीलाई सूचित एवम् प्रेरित गर्ने काम गरिरहेको उपमहानगरपालिकाले जनाएको छ । कोरोना भाइरसको जोखिमका कारण खोप लगाउन आउने व्यक्तिलाई मास्क लगाएर आउन वडा कार्यालयहरुले अपील गरेको छ भने सुरक्षाका लागि कतिपय स्वास्थ्य इकाईमा प्रहरी समेत खटाइएको थियो । बालबालिकालाई खोप लगाउन आउने अभिभावकहरुलाई भौतिक दुरी कायम गरी लाइनमा राखिएको थियो ।

१६ वटा वडामा खोप लगाउन सकियो

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित खोप केन्द्रमा बालबालिकालाई खोप लगाउन आएका आमाहरु भौतिक दुरी कायम गरी लाइनमा बस्दै ।

यसैबीच हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडा मध्ये १६ वटा वडामा जेठ महिनाको खोप कार्यक्रम सकिएको छ । जेठ १ गतेबाट सुरु भएको खोप कार्यक्रम जेठ १० गतेसम्ममा वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२। १४, १६, १७, १८ र १९ नम्बर वडामा जेठ महिनाको नियमित खोप कार्यक्रम सकिएको छ । उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाले वडास्थित स्वास्थ्य इकाईका प्रमुखहरुसँगको छलफलबाट खोपको तालिका निर्माण गर्ने गरेको छ ।

जेठ महिनामा एउटा वडामा कम्तिमा २ दिन र बढीमा ५ दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्ने तालिका बनाएको छ । जनस्वास्थ्य शाखाले वडा नम्बर १५ र १९ मा ५/५ दिन खोप कार्यक्रम सञ्चालन गर्ने तालिका बनाएको छ । यस्तै वडा नम्बर १९ मा दुईवटा खोप केन्द्र सञ्चालन भएको छ भने अन्य वडामा एउटै खोप केन्द्र निर्धारण गरिएको छ । जेठ महिनामा नियमित खोप कार्यक्रममा छुटेका बालबालिकाले अर्को महिना खोप लगाउन सक्ने स्वास्थ्य शाखाका प्रमुख रमन झाले बताउनुभयो ।