हेटौंडाः हेटौंडामा जारी दोस्रो विजय युथ गोल्डकप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनल खेलमा बागमती प्रदेश प्रहरी गणलाई हराउँदै आयोजक एफसी विजय युथ क्लब सेमिफाइनल प्रवेश गरेको हो ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा एफसी विजय युथले बागमती प्रदेश प्रदेश प्रहरी गणलाई १–० गोल अन्तरले पराजित गरेको छ । एफसी विजय युथको तर्फबाट पहिलो हाफको २० औं मनेटमा आश गुरुङले १ गोल गरेका थिए । बागमती प्रदेश प्रदेश प्रहरी गणको तर्फबाट निर्धारित समयभित्र गोल भएन । खेलको म्यान अफ द म्याच एफसी विजय युथका आश गुरुङ भए ।

आइतबारकै दोस्रो क्वाटरफाइन खेल समय अभावले पूरा हुन पाएन । ढल्के जोवन एफसी र हेटौंडा फुटबल एकेडेमी ‘ए’ बीच खेल अपूरो रहेको हो । फुटबल एकेडेमी टिमले पहिलो हाफमै २ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ढल्के जोवनको टिमले गोल गर्न सकेको थिएन । समय अभावका कारण बाँकी अवधिको खेल सोमबार विहान ८ बजे खेलाइने आयोजक सुदिप राजबाहकले जानकारी दिनुभयो ।

हेटौंडा फुटबल एकेडेमीको तर्फबाट ८ औं मिनेटमा दिवस श्रेष्ठले गोल गरेका थिए भने ३७ औं मिनेटमा मिलन सन्तालले गोल गरेका थिए ।